बिर्तामोडमा ‘लाटीको छोरो’ रंगमञ्चमा उतार्दै 


साझामञ्च डेस्क, प्रकाशित मिति : २०७४ ,कार्तिक , २४ 06:34:57

30028-20171110063926.jpg

बिर्तामोड । सिनेमा घरहरुमा भिडभाडका साथ फिल्म हेर्न रहर गर्ने दर्शकहरुका लागि आफ्नै आँखाले कलाकारको प्रत्यक्ष अभिनय देख्न पाउने भएका छन् । पूर्वमा पहिलोपटक सेट निर्माण गरेरै नाटक मञ्चन गर्न लागिएपछि दर्शकहरुको चाहाना पूरा हुने भएको हो ।

नेपाली समाजको चित्रण गर्ने नाटक लाटीको छोरो बिर्तामोडको अतिथि सदनमा कात्तिक २५ गतेदेखि २९ गतेसम्म मञ्चन गरिने भएको हो । नाटक मञ्चन गर्नुअघि बिहीबार आयोजकले पत्रकार सम्मेलन गर्दै पूर्वका दर्शकलाई नयाँ स्वाद पस्किन लागेको जनाए ।

पत्रकार सम्मेलनमा अग्रज कलाकार टीका पहारीले पूर्वमा नाटक मञ्चन गर्ने तथा पैसा तिरेर, टिकट काटेर नाटक हेर्ने दर्शक अत्यन्त न्यून रहेछन् । उनले नाटक हेर्ने संस्कार बसाल्न जरुरी रहेको भन्दै नाटक कहाँ कहिले सुटिङ भएको होजस्ता प्रश्नहरु आउनु स्वयम्मा रंगमञ्चबारे नबुझेको प्रष्ट हुन्छ ।

नेपालमा शिक्षा, संस्कृति र साहित्यमा पूर्वीक्षेत्र अग्रणी मानिए पनि रंगमञ्च बारे अझै जानकार रहेछ भन्दै कलाकार पहारीले लाटीको छोरोजस्तो सामाजिक विषय समेटिएको कथाबस्तुमा आधारित नाटक खेल्न आफू ४२ वर्ष पछि रंगमञ्चमा ‘कमब्याम’ गरेको सुनाए ।

राजधानी काठमाडौं बाहेक मोफसलमा थिएटरमा गएर नाटक हेर्ने परिपाटी नबसेकाले त्यसलार्इ चिर्नका लागि भए पनि जोखिम मोलेर आफूले नाटक पूर्वमा ल्याएको निर्माण परिकल्पनाकार प्रकाश दाहालले पत्रकार सम्मेलनमा जानकारी दिए ।

आर्ट स्टुडियोको प्रस्तुतिमा तयार भएको नाटकमा अभिनेत्री केनिपा सिंहले लाटीको भूमिका निर्वाह गरेकी छिन् । नाटकमा टिका पहारीले गाउँका नेता विषनाथको भूमिका निभाएका छन् । प्रकाश दाहाल, सन्देश लामिछाने, कुन्दन थारु, रियर राई, पशुपति राई, राजन काफ्ले, सुदिप खतिवडा, रोसन सुवेदी, आयन खड्का, मिलन कार्की र मेलिन पराजुलीले नाटकमा अभिनय गरेका छन् ।

नाटकलाई सफर पोखरेल, जिया लामा र अनिष न्यौपानेले निर्माण गरेका हुन् । बोल्न नसक्ने एउटी महिलालाई समाजले गर्ने व्यवहार नाटकमा उतारिएको छ । ‘महिलामाथि भइरहेको अन्यायविरुद्ध अझै पनि हाम्रो समाज मौन छ,’ निर्माता मध्येका अनिषले न्यौपानेले भने, ‘त्यसैले समाजका मान्छेलाई यो नाटक देखाएर घच्घच्याउन खोजेका हौँ, अन्यायविरुद्ध चुप लागेर बस्नु हुँदैन भन्ने बोध गराउन खोजेका हौँ ।’

नाटक हेर्न पांच सय र एक हजार तिर्नु पर्ने छ । विद्यार्थीकोलागि भने टिकट दर दुइ सय तोकिएको छ ।

सुलक्षण भारतीले निर्देशन गरेको नाटक झापाको बिर्तामोड, झिलझिले र दमक, मोरङको विराटनगर तथा सुनसरीको इटहरी र धरानमा देखाइने निर्माण परिकल्पनाकार प्रकाश दाहालले जानकारी दिए । काठमाडौंको मण्डला नाटकघरमा भदौ २० देखि असोज ८ गतेसम्म देखाइएको यो नाटकको कथा श्याम शाहले लेखेका हुन् ।

प्रतिकृया दिनुहोस