मंसीर २ गतेदेखि बी एण्ड सीमा स्वास्थ्य महोत्सव


साझामञ्च डेस्क, प्रकाशित मिति : २०७४ ,कार्तिक , २४ 05:55:17

30027-20171110055517.jpg

झापा । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को स्वास्थ्य परीक्षण गरिने भएको छ ।

बिर्तामोडमा मंसिर २ गतेदेखि ६ गतेसम्म आयोजना गरिएको पूर्वाञ्चल स्वास्थ्य महोत्सव उद्घाटन गर्न आएको समयमा ओली र प्रचण्डको एकैपटक स्वास्थ्य जाँच गरिने भएको हो ।

बिर्तामोडको बी एण्ड सी टिचिङ हस्पिटलले मंसिर २ देखि ६ गतेसम्म ५ दिन महोत्सव सञ्चालन गर्ने भएको हो । स्वास्थ्य महोत्सवको उद्घाटन वाम घटकका दुई शीर्ष नेताहरुले संयुक्तरुपमा गर्ने भएका हुन् ।

स्वास्थ्य महोत्सव उद्घाटनका दिन दुबै नेताको एमआरआई गर्ने लक्ष्य रहेको हस्पिटलका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले बताए । हस्पिटलमा अत्याधुनिक प्रविधिका उपकरण भएकाले दुबै नेताको शरीर पूरै जाँच गर्ने आफ्नो उद्देश्य रहेको प्रसाईंले सुनाए ।
 ‘महोत्सवले मेची अञ्चलबासीलाई फाइदा पुग्नेछ,’ हस्पिटलका कार्यकारी निर्देशक प्रसाईंले भने, ‘महोत्सवमा १० हजार जनाले स्वास्थ्य सेवा लिने हाम्रो अपेक्षा छ ।’ स्वास्थ्य महोत्सवका अवसरमा हस्पिटलले सिटी स्क्यान, एमआरआई, रेडियोलोजी लगायतमा १५ प्रतिशत छुट दिने जनाएको छ । 

ओपीडी निशुल्क हुनेछ भने ल्याव र अपरेशनको शुल्कमा २० प्रतिशत छुट सुविधा दिइनेछ भने औषधि खरिदमा १० प्रतिशत छुट उपलब्ध हुने हस्पिटलका जनसम्पर्क अधिकारी प्रमिश गिरीले जानकारी दिए । 

महोत्सवमा विभिन्न स्थानबाट स्वास्थ्य क्षेत्रका विज्ञहरु आउने जनाइएको छ । मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालासहित विभिन्न विश्वविद्यालयका उपकूलपतिहरु, विभिन्न अस्पतालका वरिष्ठ चिकित्सकहरु भेला भएर बी एण्ड सी मा भइरहेको उपचार पद्धतिका बारेमा सेमीनारहरु गरिने जनसम्पर्क अधिकारी गिरीले जानकारी दिए । 
 
बी एण्ड सी हस्पिटलमा रहेका विभिन्न रोगका ८२ जना डाक्टरले महोत्सवमा सेवा पुर्याउने छन् ।

महोत्सव सम्पन्न गर्नका लागि २ करोड रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको प्रसाईंले बताए । ‘महोत्सवमा स्वास्थ्य जाँच गराउन आउन चाहनेहरुका लागि निःशुल्क यातायातको सुविधा छ,’ प्रसाईंले भने, ‘त्यस अवधिमा नाम टिपाउनेले पछि पनि सेवा लिन सक्नेछन् ।’

प्रतिकृया दिनुहोस