डट्सन रेडी गो १.० एल निशान कार बिर्तामोडबाट बिक्री शुरु


साझामञ्च, प्रकाशित मिति : २०७४ ,कार्तिक , २२ 16:25:37

30008-20171108162537.jpg

झापा । नेपालका मध्यम वर्गीय परिवारले उपभोग गर्न सक्ने तथा कच्ची बाटोहरुमा पनि सहजै यात्रा गर्न मिल्ने डट्सन ब्राण्डको जापानीज इन्जिन भएको निसान कार आजदेखि बजारमा ल्याइएको छ ।

झापाका लागि आधिकारिक बिक्रेता बिर्तामोडस्थित केशरीचन्द भन्वरलालको शो रुममा आज आयोजित विशेष कार्यक्रमका बीच सो ब्राण्डको कार सार्वजनिक गरिएको हो । आज सार्वजनिक गरिएको डट्सन रेडी गो १.० एल कारका दुईवटा मोडल रहेका छन् । दुईवटै कारमा थप विशेषता भए पनि मूल्य भने तुलनात्मकरुपमा कम रहेको कार्यक्रममा जानकारी दिइयो ।

बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराई, नेपाल अलैंची व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष निर्मल भट्टराई, शोरुमका प्रोपाइटर रोनक वंशल तथा कम्पनीका तर्फबाट प्रशान्त उपाध्याय लगायतले कारमा ओडाइएको घुम्टो खोलेर यसको सार्वजनिक गरेका हुन् । 

अन्य कारहरुको तुलनामा कम मूल्य १९ लाख ७५ हजार र २० लाख २५ हजारसम्मका दुई फरक मोडल तथा विभिन्न ५ वटा रंगमा कार उपलब्ध रहेको छ । २२ दशमलव ५ किलोमिटर प्रतिलिटरका दरले माइलेज रहेको कारको क्षमता १००० सिसि क्षमता तथा १८५ एमएम हाइट भएकाले अफरोडका लागि उपयोगी रहेको कम्पनीका बजार प्रतिनिधि उपाध्यायले अवगत गराए ।

कारको खरिदमा सडक कर, तीन वर्षको वारेन्टी र तीन वर्षको सर्भिसिङ निशुल्क सुविधा उपलब्ध गराइने जनाइएको छ ।

गत महिना दशैंको घटस्थापनाका दिनदेखि शोरुम सञ्चालन गरिएको र यो अवधिमा उक्त मोडलको कार बिर्तामोडबाटमात्रै १९ वटा बिक्री भइसकेको सञ्चालक रोनक वंशलले जानकारी दिए ।

सो अवधिमा कार खरिद गर्नेमध्येका एकजना बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष भट्टराईले उक्त मोडलको कार प्रयोग गर्न सुविधाजनक रहेको अनुभव सुनाए । उनले बिक्रीका लागि जे जसरी ग्राहकलाई कन्भिन्स गरिएको छ, बिक्री पछिको सेवाका लागि पनि यसरी नै काम गर्ने हो भने पक्कै ग्राहक बढ्नेमा विश्वास दिलाए ।

अध्यक्ष भट्टराईले मध्यमस्तरको आय भएको कुनै पनि परिवारले ५ लाख रुपैयाँ हाराहारी डाउन पेमेन्ट गरी लैजान पाउने व्यवस्था भएबाट पनि यो मोडलको कार बिक्रीमा मद्धत पुग्ने आशा देखाए ।

कारको लञ्चिङ कार्यक्रममा अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार राना, रेडक्रस बिर्तामोडका अध्यक्ष सजेश शिवाकोटी लगायतले व्यापार सफलताको शुभकामना दिए । 

केशरीचन्द भन्वरलालका म्यानेजर तीर्थ अधिकारीले स्वागत गरेको कार्यक्रमका सञ्चालन पत्रकार अच्युत सुवेदीले गरेका थिए ।

प्रतिकृया दिनुहोस