बाँच्दैन भनी सिलगढीबाट घर पठाएको बिरामीलाई बी एण्ड सीले बचायो


साझामञ्च डेस्क, प्रकाशित मिति : २०७४ ,कार्तिक , २२ 11:01:55

30001-20171108110155.jpg

झापा । दशैंको महानवमीका दिन गत असोज १३ गते आफन्तकोमा बिहानको खाना खाएर दमक चोकतर्फ लागेका दमक १ का २८ वर्षीय तुलसी सिग्देल सडक दूर्घटनामा परे । उनलाई तत्कालै स्थानीय लाइफलाइन अस्पताल पुर्याइयो । 

सडक दूर्घटनामा परेर मस्तिष्कमा गहिरो चोट लागेका उनलाई न्यूरो चिकित्सकसँग उपचार गराउनु पर्ने भए पछि सोही दिन भारतको सिलगढीमा डा. सिद्धिराज शर्माको नेतृत्वमा सञ्चालित नर्सिङ होमतर्फ रेफर गरियो । 

लाइफलाइन हस्पिटलले उपचार सम्भव नभएको भन्दै यस्तो उपचार नेपालका कुनै पनि अस्पतालमा नहुने भनेर भारत रेफर गरेको उनकी श्रीमती टीका सिग्देलले बताएकी छन् ।

‘श्रीमान दूर्घटनामा परेर गम्भीर घाइते भएको अवस्थामा हामी जसरी जहाँ लगेर भए पनि उपचार गर्न चाहान्थ्यौं’ श्रीमती टीकाले भनिन्, ‘लाइफलाइन अस्पतालबाटै एम्बुलेन्स समेत खोजिदिएर नेपालमा उपचार सम्भवै नहुने भन्दै सिलगढी पठाइयो । त्यहाँ तीन दिनमा भारु एक लाख ८० हजार रुपैयाँ सकियो । तर अस्पतालले श्रीमानलाई बचाउनै नसकिने भनेर फिर्ता पठाइदियो ।’

बिर्तामोडमा सञ्चालित बी एण्ड सी अस्पतालमा आफन्त नै काम गरिरहेका कारण उनकै सल्लाहमा सिलगढीबाट बाँच्दैन भनेर घर पठाइएका तुलसीलाई असोज १६ गते मध्यरात भर्ना गरियो । भेन्टिलेटरबाट कृतिम श्वास दिँदै सिलगढीले फिर्ता पठाइएका उनी बाँच्न सफल भएका छन् । 

३५ दिनसम्मको लगातारको मेहनतले बी एण्ड सी हस्पिटलका चिकित्सक र त्यहाँ जडित प्रविधिको सहयोगले बचाउन सफल भएको छ । बीएण्डसी हस्पिटलले तुलसीलाई पुनःजीवन दिएको परिवारले बताएका छन् ।

‘आशा मारेर घर फिर्ता ल्याएको श्रीमानलाई बी एण्ड सी हस्पिटलले बाचइदिएको भन्दै श्रीमती टिकाले आज डिस्चार्ज हुँदैछ, एक हप्तामा आउनु भनेको छ’ भनिन् ।
सिग्देलको उपचारमा संलग्न चिकित्सक डा. सुधिर सिंहले सिग्देलको अवस्था अत्यन्तै जटिल परिस्थिति भइसके पछिमात्र हस्पिटल ल्याइए पनि सबैको अथक प्रयासले उनलाई बचाउन सफल भएको बताए । 

‘परिवारको विश्वास, चिकित्सकको मेनहत र सबैको सहयोगले आज माया मारेको मान्छेलाई पुनःजीवन दिन सफल भयौं, यो एउटा चिकित्सकका लागि सबैभन्दा ठूलो सफलता हो’ डा. सिंहले खुशी व्यक्त गरे । 

बी एण्ड सी हस्पिटलका कार्यकारी निर्देशक दुर्गाप्रसाद प्रसाईले समयमा नै अस्पताल ल्याएको भए अझ छिटो सुधार आउने अपेक्षा सुनाउँदै बी एण्ड सी हस्पिटलमा दक्ष चिकित्सकका साथै अत्याधुनिक उपकरण रहेकाले अब कसैले भारत तथा अन्य देश धाउनु नपर्ने बताए । 

उनले यहाँका हस्पिटलहरुले भारतका हस्पिटलमा रेफर गर्ने गरेकाले कतै कमिशनको खेल त होइन भन्दै आशंका पनि व्यक्त गरेका छन् । बी एण्ड सीमा नै उपचार सम्भव हुने केसहरु पनि अन्यत्र पठाएर बिरामी माथि खेलबाड गरिरहेको कार्यकारी प्रमुख प्रसाईंको आरोप छ । 

झापाका विभिन्न हस्पिटलहरुले कमिशनको खेलमा लागेर भारतका विभिन्न अस्पतालहरुमा बिरामी रेफर गर्ने गरेका पाइए पनि नेपालमा नै जटिल रोगको पनि उपचार सम्म्भव छ भन्ने उदाहरण यो सफलताले मिलेको हस्पिटलका जनसम्पर्क अधिकारी प्रमिश गिरीले बताए । 

प्रतिकृया दिनुहोस