युथ क्रिकेट एकाडेमीले बिर्तामोड युनाइटेडलाई पछार्यो 


साझामञ्च डेस्क, प्रकाशित मिति : २०७४ ,कार्तिक , २२ 06:13:38

29996-20171108061338.jpg

सुरुङ्गा । झापाको कनकाई नगरपालिकास्थित कनकाई माविको खेल मैदानमा प्रथम पूर्वाचलस्तरीय  टी–२० नकआउट क्रिकेट प्रतियोगिता सुरु भएको छ । 

सोमबार भएको खेलमा अन्तर्राष्ट्रिय खेलाडी महबुव आलमको नेतृत्वमा रहेको युथ क्रिकेट एकाडेमी राजविराजको टीमले बिर्तामोड युनाइटेडलाई ६ विकेटले हराउँदै आफ्नो दोस्रो चरणको यात्रा तय गरेको छ । 

निर्धारित २० ओभरको खेलमा पहिले व्याटिङ्ग गरेको बिर्तामोडले ८ विकेटको क्षतिमा ११६ रन बटुल्न सकेको थियो । जसमा बिर्तामोडको तर्फबाट राज थापाले सर्वाधिक ३८ रन जोडे भने कविराज पराजुलीले १५, विनित बाँस्तोलाले १३, भुवन मेचेले १८ , हितमान श्रेष्ठले ३, संजीव थापाले २ तथा समिर कार्कीले व्यक्तिगत ४ रनको योगदान दिए । 

बिर्तामोडका ब्याट्समेनलाई सस्तैमा समेट्ने क्रममा राजविराजका बलर महबुव आलमले सर्वाधिक ३ विकेट लिए । आलमले एउटै खेलमा १० विकेट लिएर अन्तर्राष्ट्रिय क्रिकेटमा विश्व रेकर्ड राख्न सफल खेलाडी हुन् । अर्का बलर विवेक झाले ३, तथा रविन सिंहले र गुणानन्द रोएले समान १–१ विकेट लिए । 

११७ रनको मध्यम स्कोर राजविराजले १४ ओभर खेल्दै ४ विकेटको क्षतिमा भेट्टाएको थियो । राजविराजको तर्फबाट महबुब आलमले २२ रन बनाएका थिए । उनी खेलको म्यान अफ दि म्याच समेत भए । उनलाई कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल तथा युवा समाजसेवी सुधन घिमिरेले नगद १ हजार रुपैयाँ प्रदान गरे । 

राजविराजका तर्फबाट अमृत यादवले २८ रन, गुमानान्द रोहितले सर्वाधिक ३० तथा अमृत यादवले ५ रन बनाए । 

कनकाई सचेत युवा क्लबको आयोजना तथा ह्वाइट वास क्रिकेट क्लब सुरुङ्गाको सह–आयोजनामा सुरु भएको खेलमा पूर्वाचलका विभिन्न ८ टिमको सहभागिता रहेको छ । 

प्रतिकृया दिनुहोस