प्याराडाइस पेपर्स : विश्व चर्चित धनाढ्यहरुले कर छली गर्न गरेको लगानीबारे गोप्य दस्तावेजहरु सार्वजनिक


एजेन्सी, प्रकाशित मिति : २०७४ ,कार्तिक , २० 15:43:30

29979-20171106154331.jpg

काठमाडौं  l विश्वका धनाढ्य तथा शक्तिशाली व्यक्तिले कर छली गर्न गरेका लगानीबारेको गोप्य दस्तावेजहरु सार्वजनिक भएका छन् ।

ठूलो संख्यामा लिक गरिएका आर्थिक दस्तावेजहरुले विश्वका चर्चित धनाढ्य र नेताहरुसहित बेलायतकी महारानीसम्मले कर छली गर्न गोप्य रुपमा लगानी गरेको खुलासा भएको छ । पानामा पेपर्सपछि भएको दोस्रो ठूलो लिकलाई ‘प्याराडाइस पेपर्स’ नाम दिइएको छ ।

विश्वभरका १ सय भन्दा बढी मिडिया आवद्ध भएको अन्तर्राष्ट्रिय कन्सोर्टियम अफ इन्भेस्टिगेटिभ जर्नलिष्ट आईसीएफजेले एक वर्ष लगाएर अनुसन्धान गरी सो खुलासा गरेको हो । दस्तावेजहरु करको दायित्वबाट जोगिन स्थापना गरिएको ’अफसोर’ कम्पनीसँग सम्बन्धित छन् ।

१ करोड ३४ लाख गोप्य दस्तावेजको खुलासाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नियुक्त गरेका वाणिज्य मन्त्रीको अमेरिकाले नै प्रतिवन्ध लगाएको रसियनहरुसँग व्यापारिक साँठगाँठ रहेको समेत देखिएको छ ।

ट्याक्स हेवन  भनिने देशहरुमा विभिन्न देशका नेता, सरकार तथा राष्ट्रप्रमुख र व्यवसायीहरुको गोप्य लगानी खुलासा रहेको भएको हो । ती दस्तावेजहरुले ५० देशका १ सय २० भन्दा बढी राजनीतिज्ञ कुनै न कुनै रुपमा यस्ता गतिविधिमा संलग्न भएको देखाएको छ ।

अनुसन्धानकर्ताहरुले यसका कारण कैयौं देशको अर्बौ रकम कर नोक्सानी गराएको जनाएका छन् । प्याराडाइस पेपर्सका अन्य कागजपत्रसहितका विभिन्न समाचारहरु आगामी सातामा सार्वजनिक गरिँदै लगिने बीबीसीसहित यी कागजपत्रमा जुटेका सञ्चारमाध्यमले जनाएका छन् ।

प्रतिकृया दिनुहोस