पार्टी भन्दा पनि काम र प्रतिष्ठाको चिन्ता 


कालिदास भट्टराई, प्रकाशित मिति : २०७४ ,कार्तिक , १९ 14:32:28

चुलाचुली गाउँपालिका वडा नं. ४ का वडाध्यक्ष

29961-20171105143228.jpg

‘कट्टर वामपन्थी कलाकार बनाउने रणनीतिले ‘मिरमिरे क्लव’ स्थापना गरेका थियौं, २०५२ सालतिर । कलाकारिता क्षेत्र मेरो जिन्दगी हो भन्ने लाग्थ्यो । त्यो वेला समाजका विकृति हटाउन दुई–चार नाटकमा खलनायकको भूमिका पनि गरेको थिएँ । कलाकारहरू सधैं अरूको खुसीका लागि बाँच्नु पर्ने रहेछ, यो म र मेरो परिवारको लागि सम्भावना थिएन ।’

हाल चुलाचुली गाउँपालिका वडा नं. ४ का वडाध्यक्ष कालिदास भट्टराईले सामाजिक र राजनीतिक सुरूवाती संघर्षको कथा सुनाए ।

२०२९ साल जेठ २० गते तेह्रथुम जिल्लाको मोराहङमा जन्मिएका भट्टराई २०३० सालमा बाल्यकाल छँदै चुलाचुलीमा बसार्इं सरी आएका हुन् ।

चुलाचुली गाउँपालिका ३ स्थित श्री किराँतेश्वर सामुदायिक विद्यालयबाट प्रारम्भिक शिक्षा लिएका उनले थप शिक्षा झापा दमकको हिमालय सामुदायिक विधालयमा कक्षा नौसम्म पढेको सुनाउँछन् ।

संयुक्त परिवार, गरिबी र आर्थिक विपन्नता, त्यहीबेला क्षयरोग लागेर १५० वटा स्लाइन शरीरमा चढाउनु पर्दाको पीडाले थप शिक्षा लिन नसकेको उनको दुखेसो छ ।

पारिवारिक पृष्ठभूमिसहित आफ्नो विगत कोट्उाँदै वडाध्यक्ष भट्टराई थप्छन्, ‘बुवा दोस्रो विश्व युद्धपछि व्रिटिस सेनामा भर्ती हुनु भएकाले उहाँको कडा स्वाभावले  १३–१४ वर्षकै उमेरमा तीन दाजुहरूले घरबाट बाहिरिनु पर्यो। बुबा–आमाको कडापन सहेर बस्ने कान्छो छोरा भएकाले २०४६ वैशाख १५ गते चुलाचुली कै दिवाकर पौड्यालको माईली छोरीसँग १७ वर्षकै उमेरमा विवाह बन्धनमा बाधिन पुगेँ । यसको केही वर्षमै वुबाको मृत्यु भएकाले ऋणपान र घर व्यवहारको जिम्मेवारी मेरो काँधमा आयो । बाबु जिवित हुँदा रातरात दाजुभाइ कम्युनिष्ट संगठनमा हिंड्थ्यौं, बुबा  भने राजापक्षका सूर्यबहादुर थापालाई भगवान झैं मान्थे । 

पारिवारिक पृष्ठभूमि  कम्युनिष्ट मान्ने कालिदास २०४६ सालदेखि संगठन र चुनावका र्यालीमा होमिन पुगे । २०४८ सालतिर प्रजातान्त्रिक राष्ट्रिय युवा संघ, अखिल नेपाल किसान संघ, इलामको अध्यक्ष पदमा जिम्मेवार भूमिकामा रहन पुगे । २० वर्ष अगाडि स्थानीय चुनावमा साइकल र्याली हुन्थ्यो, त्यसवेला हिरो, एवान नामका साइकलको सयौं लाईन देखिन्थ्यो । भट्टराईले भने, यश वर्षको स्थानीय चुनावमा उमेदवार दिन अघि एमाले पार्टी संगठनका चुलाचुली इलामका कमिटी सचिवालय सदस्य बनी सकेका थिए । 

उनले भने, पार्टीको सिपाही रहेकाले उमेदवारको टिकट पाए पनि प्रतिपक्षीसँगको प्रतिस्पर्धा गर्न सजिलो थिएन । मभन्दा अग्रज र पुराना पनि छन्, मभन्दा अरू नै उपयुक्त होला भन्ने लाग्दथ्यो । पार्टीले यस वडामा मेरो पक्षमा जनलहर टोल–टोलमा रहेका देखियो । वडा प्रतिनिधि बनेपछि, जनमत आफ्नो बनाउने समस्याबाट पार भएँ तर अन्य वडाहरूको प्रतिस्पर्धी भन्दा राम्रो काम गर्ने चुनौती छ । 

चुलाचुली गाउँपालिकाको अन्य वडाहरू मध्ये विकास योजनाहरू राम्रो  पार्न सफल रहेका कालिदास भट्टराईलाई पार्टी भन्दा पनि काम र प्रतिष्ठाको चिन्ता छ ।
पूर्वाधार विकास समिति अध्यक्षसमेत बनेका भट्टराई भन्छन,ु पार्टी र संगठनको आँटमा जिते अब पार्टीप्रति दया, माया हेर्नू भएन, जनताको मन सहयात्रीको सल्लाह लिएर काम गर्नु छ ।

वडामा विकास वजेट 

चुलाचुली गाउँपालिका वडा नंं. ४ मा वडा विकास बजेट ७५ लाखमा ३ प्रतिशत कर काटिने भएपछि ७२ लाख विकास निर्माणमा खर्च हुने भएको छ । बजेटले मुख्य प्राथमिकतामा कल्भट, ह्युमपाइप, बाटो ग्राबेललगायत गराउने लक्ष्य रहेको छ ।
वडा बजेटभन्दा छुट्टै गाउँपालिका बजेटबाट श्री बाल ज्योति सामुदायिक विद्यालयमा प्राविधिक शिक्षाका लागि १५ लाख, विधुत विस्तारका लागि १४ लाख, विधुवा खोला तटबन्धनमा १० लाख ५० हजार रूपैयाँ, विधुवा खोला डिपिआर गर्न ६ लाख ६८ हजार, चुलाचुली गाउँपालिका कार्यालय निर्माणमा १ करोड ३५ लाख बजेट निकासा भएको छ ।

कालिदासले भने, वडा प्रमुख नहुँदा यो वा त्यो काम भएन भनेर साह्रो मज्जा गरी औंलाउन पाइन्थ्यो, अहिले आफैँलाई कार्यान्वयन गर्न चुनौती छ । निर्वाचित सदस्यहरूलाई काम विभाग दिने त्यसमा नेतृत्व गर्न सक्ने मान्छेलाई छानेर टोल विकास निमार्ण समिति बनाउनु छ, अझै जनताले काम के हुँदैछ, कस्ता काम हुनुपर्छ जनताले घच्घचाउन सकोस् । वडाका काममा व्यस्त भट्टराईलाई वडा कार्यालयको भवन निर्माणका लागि ५ कठ्ठा जमिन उपलब्ध गराउन लागिपरेका छन् ।
 
वार्षिक विकास योजना 

केन्द्रीय विकास बजेटमा चुलाचुली रिङरोड परिकल्पना योजनामा ५ कि.मि. बाटो डिपिआर भईसकेको छ । वडा नं. ४ मंगोलिय चोक हँुदै आईतबारे बजार, पदम राईस मिल हुँदै एकता टोल उत्तर जोगी टोल हुँदै सुम्निमा चोक बुकुवा पश्चिम बाटो जोड्नेसम्म योजनामा छ । 

वडाको पर्यटकीय क्षेत्रको लागि स्थान छनौट, रतुवामा पूल बनिसकेपछि ३–४ कि.मि. बाटो कालोपत्रे बनाउने योजना, झापा इलाम सिमानामा रहेका बाटो खोल्ने कार्यक्रम उनले बनाएका छन् ।  रतुवा खोला इलामको नक्सामा छ झापासँग जोडेर योजना कार्यान्वयमा ल्याउने, युवा चेतना सुधार अभियान समेत गर्ने भट्टराईका लक्ष्य छन् । 

                                                                     प्रस्तुति : चेतन आङथुपो/चुलाचुली (इलाम)

प्रतिकृया दिनुहोस