पेट्रोलिय पदार्थको भाउ बढ्यो, आजै रातिदेखि लागू हुने


एजेन्सी, प्रकाशित मिति : २०७४ ,कार्तिक , १५ 20:47:05

29895-20171101204705.jpg

काठमाडौं l नेपाल आयल निगमले इन्धनको मूल्य वृद्धि गरेको छ । आयल निगमले बुधबार रातको १२ बजेदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ, डिजल र मट्टितेलमा प्रतिलिटर एक रुपैयाँ ५० पैसा र खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर २५ रुपैयाँ वृद्धि गरेको हो ।

निगमका निमित्ति कार्यकारी निर्देशक सुसिल भट्टराईका अनुसार अब उपभोक्ताले प्रतिलिटर पेट्रोल खरिदमा एक सय र डिजल र मट्टितेल खरिदमा ७५ रुपैयाँ ५० पैसा र ग्यासमा प्रतिसिलिन्डर १३ सय ५० तिर्नु पर्ने हुन्छ ।

निगमले आइओसीबाट नयाँ आएको मूल्य सूची अनुसार इन्धनको मूल्य समायोजन गरेको जनाएको छ । अहिले अन्तर्राष्ट्रिय बजारमा समेत कच्चा तेलको मूल्य बढिरहेको छ ।

मूल्य समायोजन नगरेको अवस्थामा निगमलाई अबको एक महिनामा २२ करोड घाटा हुने अवस्था आएपछि मुल्य वृद्धि गरेको भट्टराईको भनाइ छ । मूल्य समायोजन पछि निगमलाई अब यो महिना ४ करोड नाफा हुनेछ । अघिल्लो महिना निगमले १६ करोड नाफा गरेको थियो ।

साथै निगमले अबदेखि हवाई इन्धनको मूल्य पनि आइओसीले दिने प्रत्येक महिनाको नयाँ मूल्य सूचि अनुसार समायोजन गर्ने निर्णय गरेको छ ।

प्रतिकृया दिनुहोस