टिकटमा बाँचुन्जेल एउटैको हालीमुहाली


प्रकाश आस्था, प्रकाशित मिति : २०७४ ,कार्तिक , १२ 07:10:34

29836-20171029071034.jpg

लोकतन्त्र, समानता, न्याय र समान अवसरका नारा बोक्ने राजनीतिक दलहरू आफैंमा कति लोकतान्त्रिक छन् भन्ने तिनले चुनावमा उठाएका उम्मेदवारको निरन्तरताबाट थाहा हुन्छ । नेपालको राजनीतिमा बेलाबेलामा परिवारवादको चर्चा भएसँगै चुनावमा टिकट लिने र दिने सवालमा ‘बूढो साँढेले झैं ओगटिरहने’ प्रवृत्ति व्यापक छ । एकपटक नेता भएपछि बाँचुन्जेल नेता, एकपटक कुनै क्षेत्रबाट चुनावमा उम्मेदवारी पाएपछि त्यही क्षेत्र वा जिल्लालाई आफ्नो पेवा ठानेर बस्ने प्रवृत्तिले जरा गाडेको छ । त्यस्ता क्षेत्र र जिल्लामा अर्कोले नेतृत्व पाउन ‘पहाडै खस्नुपर्ने’ अवस्था छ ।

एउटैलाई अवसर

पञ्चायतकालमा कांग्रेसको राजनीति गर्दागर्दै राष्ट्रिय पञ्चायतमा सदस्य भएका नुवाकोटका अर्जुननरसिंह केसी पञ्चायतकालमै दुईपटक राष्ट्रिय पञ्चायत सदस्यमा (रापस) मा उठे र एकपटक स्वास्थ्य सहायकमन्त्री, एकपटक यातायात राज्यमन्त्रीसमेत भए । पछि जिल्ला पञ्चायतको सभापतिसमेत भए । उनी ४६ सालको जनआन्दोलनताका सभापतिकै नाताले ‘जनआन्दोलन प्रतिकार समितिको जिल्ला संयोजक’ थिए । बहुदल आएपछि उनी राप्रपा थापाका संस्थापक महामन्त्रीसमेत बने । लगत्तै कांग्रेस प्रवेश गरेका उनले एकैपटकमा नुवाकोटबाट सांसदको टिकट पाए ।

बहुदलीय व्यवस्थाअन्तर्गतको संसद्मा पाँचपटक उम्मेदवार बन्ने अवसर पाएका उनी पञ्चायतमा समेत गरेर पाँचपटक मन्त्री भइसकेका छन् । सम्पन्न कांग्रेसको तेह्रौं महाधिवशेनमा उनी सभापति शेरबहादुर देउवाको प्यानलबाट महामन्त्री पदाका प्रत्याशीसमेत थिए । आउँदो संघीय संसद्मा पनि उनी प्रत्यक्षतर्फबाट कांग्रेसको उम्मेदवार हुने भएका छन् ।

पञ्चायतकालमै संयुक्त राष्ट्रसंघको जागिर खाएका डा. रामशरण महत शेरबहादुर देउवा नेविसंघका अध्यक्ष हुँदा उक्त संगठनको महामन्त्री थिए । राजनीति गर्नकै लागि ‘कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाबाट बोलाइएका’ उनी २०४८ को संसदीय चुनावमा नुवाकोटबाट कांग्रेसको तर्फबाट चुनाव लडे । चुनाव हारेपछि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष बनेका महत नुवाकोटबाटै पाँचपटकसम्म सांसदको टिकट पाएर चारपटक जित हात पार्न सक्षम बने । उनी चारपटक अर्थ र एकपटक परराष्ट्र मन्त्रीसमेत भइसकेका छन् ।

 ठूलाको ठाउँ

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल २०४८ सालदेखि भएका प्रतिनिधि सभा÷संविधानसभाको सबै चुनावमा तनहुँबाट निरन्तर उठ्दै र जित्दै आएका छन् । २०४८ मा तनहुँ क्षेत्र नम्बर १ बाट निर्वाचित उनी उक्त क्षेत्रमा वामपन्थीको प्रभाव बलियो देखिएपछि दोस्रो पटकदेखि कांग्रेसको बलियो पकड भएको सोही जिल्लाको क्षेत्र नम्बर २ बाट निरन्तर चुनावमा उठ्दै आए । अहिले तनहुँमा दुई क्षेत्र मात्रै कायम गरिएपछि उनी तनहुँ क्षेत्र नम्बर १ बाट उम्मेदवार बन्ने आधिकारिक घोषणा भइसकेको छ ।

एकपटक चर्चा भएपछि या कतैबाट चुनिएर आएपछि त्यो साख जोगाउनकै लागि पनि उनीहरू फेरिफेरि चुनावमा जितिरहने लक्ष्य राख्छन् ।-रञ्जु दर्शना, केन्द्रीय सदस्य, विवेकशील साझा पार्टी

एकपटक प्रतिनिधिसभाको सभामुख भएका उनले निरन्तर रूपमा विभिन्न मन्त्रालय सम्हालेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवा पनि आफ्नो गृह जिल्ला डडेलधुराबाट २०४८ सालयता सांसदमा निरन्तर जित्दै आएका छन् । अहिलेसम्म चारपटक प्रधानमन्त्री भएका उनी तत्कालीन पार्टी सभापति गिरिजाप्रसाद कोइरालाको मन्त्रिपरिषद्मा गृहमन्त्रीको यात्रा प्रारम्भ गर्दै राज्य र कांग्रेसको राजनीतिमा मियो नै बन्न सफल भए ।

 सदावहार मन्त्री

कांग्रेसबाट राजनीति थालेका विजयकुमार गच्छदार सदावहार मन्त्रीका रूपमा चर्चित छन् । पहिलोपटक २०४८ को चुनावमा कांग्रेसबाट टिकट पाएर सुनसरीबाट सांसद बनेका उनले अवसर र पदका लागि कहिल्यै पछाडि फर्केर हेर्नुपरेको छैन । उनी अहिलेसम्म पाँचपटक सांसद भइसकेका छन् भने दर्जनभन्दा बढी उपप्रधानमन्त्री र मन्त्री बनिसकेका छन् । केही साताअघिसम्म मधेसी जनधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष रहेका उनी अहिले कांग्रेस छिरेर फेरि पनि सुनसरीबाटै उम्मेदवार बनेका छन् । लाज नमानीकन अवसर छोप्न जानेका उनलाई मन्त्री बन्ने सन्दर्भमा कतिपयले ‘प्रवृत्ति’ कै रूपमा लिने गर्छन् । संविधानसभाले संविधान जारी गर्दा मधेसको राजनीतिमा महत्वपूर्ण भूमिका निर्वाह गरेका गच्छदारले संविधान निर्माणमा पनि महत्वपूर्ण भूमिका खेले ।

 पञ्चायतदेखिको जरो

सिन्धुपाल्चोकबाट पञ्चायतकालमा दुईपटक रापंसमा चुनिएका पशुपतिशमशेर राणा त्यही बेला पटकपटक मन्त्री भए । अन्तिम राणा प्रधानमन्त्री मोहनशमशेरका साख्खै नाति उनी आउँदो चुनावमा लोकतान्त्रिक गठबन्धनको समर्थनमा राप्रपा प्रजातान्त्रिकको तर्फबाट सिन्धुपाल्चोकबाट उठेका छन् । उनी दरबार हत्याकाण्डताका तत्कालीन युवराज दीपेन्द्रकी प्रेमिकाका रूपमा चर्चित युवती देयवानी राणाका पिता हुन् । भारतको सिन्धिया खानदानका ज्वाइँ यिनलाई सिन्धुपाल्चोकका कतिपय जनताले अहिले पनि ‘राजासाहेब’ मात्र नभएर हेलम्बुका शेर्पिनीहरू आफ्नो छोरोका रूपमा समेत लिन्छन् । राणा स्वयं हेलम्बुका शेर्पिनीहरूलाई धाईआमा भन्छन् । २०४८ सालदेखि उनी निरन्तर सिन्धुपाल्चोकबाट सांसदमा उठ्दै आएका छन् । नेपालको प्रजातान्त्रिक आन्दोलनताका चर्चित महाकाली सन्धिको समयमा उनी जलस्रोतमन्त्री रहेका थिए ।

 वाम : बारम्बार एकै ठाउँ

एमाले अध्यक्ष केपी शर्मा ओली झापामा २०४८ सालदेखि निरन्तर चुनावमा उठ्दै आएका छन् र जित्दै पनि आएका छन् । पहिलो संविधानसभाको चुनावबाहेक अन्यमा उनले जितेका छन् । इलामबाट २०५१ सालको चुनावबाट उदाएका सुवास नेम्बाङ त्यहींबाट बारम्बार उठ्दै र जित्दै आएका छन् । एमाले संसदीय दलको उपनेताका रूपमा रहेका नेम्बाङकै सक्रियतामा दोस्रो संविधानसभाले २०७२ असोज ३ गते नेपालको संविधान जारी गर्न सफल भयो । एमाले वरिष्ठ नेता झलनाथ खनाल पनि निरन्तर २०४८ देखि इलामबाट उठ्दै आएका छन् ।

भोट दिने युवाहरूले पनि युवा पुस्तालाई विश्वास गरे मात्र राजनीतिमा बूढाहरूको सिन्डिकेट अन्त्य हुन्छ ।-जयराम दाहाल, नेता, नेविसंघ

२०५६ मा एकपटकबाहेक उनले त्यहाँबाट चुनाव जितेका पनि छन् । पूर्वी कोशी प्रान्तीय कमिटीदेखि नेकपा (माले) सम्मको इतिहास बोकेका खनाल तत्कालीन मालेका संस्थापक महासचिव चन्द्रप्रकाश मैनालीलाई अपदस्थ गरी पार्टीको महासचिव बन्न सफल भएका थिए । छमहिने कार्यकालको प्रधानमन्त्री भएका खनाल भारत भ्रमण नजाने एक मात्र विगत २८ वर्षयताका प्रधानमन्त्रीका रूपमा रहेका छन् ।

२०४४ सालमा जिल्ला पञ्चायत धादिङका सभापति चुनिएका राजेन्द्र पाण्डेले पनि त्यसपछि धादिङ छोडेका छैनन् । ‘मुख्यमन्त्री खान’ धादिङबाटै यसपटक प्रदेशसभामा झरेका उनले पहिलो संविधानसभाको चुनावबाहेक अन्य चुनाव हारेका छैनन् । २०४८ को निर्वाचनमा नेपाल मजदुर किसान पार्टीको तर्फबाट सांसद बनेका सो पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले पनि आफ्नो ‘मादल’ अहिलेसम्म निरन्तर घन्काइरहेका छन् । २०४८ पछिका सबै

प्रतिनिधिसभा÷संविधानसभाको चुनावमा उनी जितिरहेका छन् । मन्त्री खाएर ‘नबिटुलिने’ उनको पार्टीको सिद्धान्त रहिआएको छ । यी केही प्रतिनिधि पात्र र प्रवृत्ति अहिले पनि आफूलाई खास कुनै क्षेत्रको उम्मेदवारका रूपमा स्थापित गर्ने र त्यही विरासतलाई निरन्तरता दिने प्रयासमा कैयन् राजनीतिज्ञहरू पनि लागिरहेका छन् । स्थानीय निकायमा पनि यो प्रवृत्ति देखिन्छ ।

 असर/प्रभाव

२०४८ सालमा कुनै पार्टीको सदस्यता लिएको व्यक्ति सामान्य हिसाबले पनि अहिले ४२ वर्षको भइसकेका हुन्छन् । एउटा क्षेत्रमा कुनै पार्टीको एउटै व्यक्ति बारम्बार उम्मेदवार हुँदाको असर त्यस बयालीसबर्से व्यक्तिको यात्रा केवल ‘कार्यकर्ताबाट केवल कार्यकर्ता’ सम्म मात्र हुनु विडम्बनापूर्ण हो।

उसो त साविकका गाविस, नगरपालिका आदि स्थानबाट समेत प्रतिनिधित्व हुने र आफूलाई नेतृत्वका रूपमा विकास गर्ने अवसरसमेत तिनले पाउने नै थिए नि भन्ने बहस पनि गर्न सकिन्छ, तर त्यस्तो खालको नेतृत्वको प्रभाव राष्ट्रिय राजनीतिमा कम हुन्छ । देउवा, पौडेल, ओली, खनाल, महतले त तीन दशक एकछत्र उम्मेदवार हुने अवसर पाए, यहाँ त केसी, लोहनी, राणाजस्ता चार दशकदेखि राजनीति ओगटिरहनेको अहिले पनि दबदबा छ । त्यसो हुँदा कपाल फुलेको नेतृत्वले रन्जु दर्शना जस्ता नातिनी पुस्तालाई आफ्नो पेवा क्षेत्रमा स्विकार्ने सम्भावना त हुँदैन नै, अन्यत्र पनि युवा नेतृत्व ल्याउन चाहँदैन ।

जागिर र बजेटको जालो

सामान्यतया चर्चाले मानिसको प्रतिष्ठा उकास्छ । एकपटक समाजमा चर्चा बटुलेको या शक्तिमा आएको मान्छे त्यहाँबाट तल होइन, अझ माथि उक्लिन चाहन्छ । शैक्षिक अथवा कुनै योग्यताको कुनै प्रमाणपत्र पेस गर्नुनपर्ने राजनीतिजस्तो अनौठो पेसाले हाम्रोजस्तो अर्धसामन्ती समाजमा पर्याप्त शक्ति संकलन गर्छ । कोही व्यक्तिले गलत काम गरेर प्रहरीले समात्यो, अब ऊ र उसका आफन्तले राजनीतिक दल अथा उसका नेतामार्फत भनसुन गरेर छुटाउन खोज्छन् ।

कतै जागिर खुल्यो, नेता आफू आर्जित ‘शक्ति’ कै आधारमा त्यो जागिर आफ्ना कार्यकर्ता या आफन्तलाई दिलाउने प्रयास गर्छ । जस्तो कि धेरैपटक अर्थमन्त्री भएका महतले आफ्नो क्षेत्रका थुपै्र कांग्रेस कार्यकर्तालाई विभिन्न बैंकमा जागिर खुवाउन सफल भएको उनीनिकट नै बताउँछन् । भ्रष्टाचार मुद्दामा जेलसमेत परेका र अहिलेसमेत कांग्रेसमा उत्तिकै प्रभाव उक्त पार्टीका केन्द्रीय सदस्य एवं पूर्व गृहमन्त्री खुमबहादुर खड्काले थुप्रै कार्यकर्तालाई प्रहरीको जागिर खुवाएको उनी निकटकै मानिसहरू बताउँछन् ।

एउटा व्यक्तिले कतिपटक चुनावमा उठ्न पाउने भन्ने प्रावधान बनाएपछि मात्र युवा पुस्ताले अवसर पाउँछन् । -राजेन्द्र राई, एमाले नेता

यही जागिरको सञ्जालको जगमा महत र खड्काहरू अहिले पनि आफ्ना क्षेत्रमा ‘जनप्रिय’ छन् । त्यतिमात्र होइन, कुनै खास क्षेत्रमा आफूलाई स्थापित गर्न आफ्नो क्षेत्रमा बजेट लैजाने होडबाजी पनि उत्तिकै गर्छन् निर्वाचितहरू । राज्यको बजेट लगेर आफ्नोमा पार्न जसले सक्यो, उही नै बढी विकासवादी देखिने हुनाले पनि खास जिल्लामा एउटैको हालीमुहाली बढेको हो ।

निरुत्साहन कसरी ?

विवेकशील साझा पार्टीकी केन्द्रीय सदस्य रञ्जु दर्शना यसो हुनुमा ‘इगो’ प्रमुख कारण रहेको बताउँछिन् । ‘एकपटक चर्चा भएपछि या कतैबाट चुनिएर आएपछि त्यो साख जोगाउनकै लागि पनि उनीहरू फेरिफेरि चुनावमा जितिरहने लक्ष्य राख्छन्’ उनी भन्छिन्, ‘तर त्यसो भएपछि उनीहरूले वर्षौंसम्म राजनीतिमा आउन चाहने अन्य व्यक्तिहरूलाई पछाडि पारि नै रहन्छन् ।’ दर्शनाको बुझाइमा यसरी एउटै व्यक्ति राजनीतिमा रहनुमा जनता पनि उत्तिकै जिम्मेवार छन् । एउटा खास व्यक्ति वा पार्टीलाई मात्र निरन्तर भोट हाल्ने बानीकै कारण पनि त्यस्ता नेताहरू प्रोत्साहित भएको र जनता स्वयं सच्चिएमा मात्र यस्तो प्रवृत्तिको अन्त्य हुने ठान्छिन् उनी ।

नेविसंघ नेता जयराम दाहाल दशकौंसम्म एउटै व्यक्तिले एउटै क्षेत्र ओगटिदिएका कारण राजनीतिमा युवाहरूले भविष्य नदेखेको बताउँछन् । ‘केही गर्छु नि त भनेर राजनीतिमा आउने युवाहरू राजनीतिलाई पेसा बनाएर ढाडिएका नेताहरूकै सिकार हुन्छन्’ दाहाल भन्छन्, ‘यसका लागि पार्टीभित्रै युवाहरूले सशक्त हस्तक्षेप गर्नुको विकल्प छैन । भोट दिने युवाहरूले पनि युवा पुस्तालाई विश्वास गरे मात्र राजनीतिमा बूढाहरूको सिन्डिकेट अन्त्य हुन्छ ।’

‘शीर्ष नेतृत्व एउटै क्षेत्र वा जिल्लाबाट बारम्बार चुनाव उठ्ने शक्तिको विषय हुने रहेछ’, एमाले नेता राजेन्द्र राई भन्छन्, ‘पार्टीभित्र पद्धति र प्रक्रियाभन्दा व्यक्ति ठूलो मान्ने सामन्ती संस्कारका कारण यस्तो भएको हो ।’ राई एउटा व्यक्ति यति पटकसम्म चुनावमा उठ्न पाउने भन्ने प्रावधान बनाएर अघि बढेमा युवा पुस्ताले अवसर पाउने बताउँछन् ।

प्रतिकृया दिनुहोस