कमल गाउँपालिकाको बजेट ३३,३३,७३,६०० रुपैयाँ


उमानाथ भण्डारी , प्रकाशित मिति : २०७४ ,कार्तिक , ११ 15:41:10

प्रथम गाउँसभा सम्पन्न

29823-20171028154110.jpg

कमल । समृद्ध कमल हम्रो सरोकार भन्ने नाराका साथ आज झापाको कमल गाउँपालिकाले आफ्नो प्रथम गाउँसभा गरेको छ ।

गाउँपालिकाको सभाहलमा आयोजित गाउँसभाले आर्थिक वर्ष २०७४÷ ०७५ को नीति, कार्यक्रम तथा बजेट पास गरेको छ ।

नीति तथा कार्यक्रममा नेपालको संविधानको मर्मअनुसार स्थानीय जनतालाई स्रोत, साधन, अधिकार सम्पन्न बनाउने उल्लेख छ । जनताले जनता कै लागि शासन गरेको अनुभुति हुनेगरी सेवा प्रवाहमा सुधार गर्दै नमूना गाउँपालिका बनाउने लक्ष्य नीति तथा कार्यक्रममा उल्लेख छ । गाउँपालिकाले प्रवाह गर्ने सेवालाई आधुनिकीकरण तथा प्रविधिमैत्री बनाउने प्रस्तुत नीति तथा कार्यक्रममा समेटिएको छ ।

कमल गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा गाउँपालिकाको भौतिक संरचना निर्माणलगायतमा ध्यान दिइएको छ । सडक विस्तार तथा कल्भर्ट निर्माण, खानेपानी तथा ढल निकासको समुचित व्यवस्थापन, शिक्षा, स्वस्थ्य, कृषि, पशुपालन, सहकारी, बजार विस्तार, ग्रामीण विद्युतिकरण, उद्योग कलकारखानाको स्थापना, पर्यटन, वातावरण तथा विपद व्यास्थापनसहितका योजनाहरु समेटिएका छन् । 

नीति तथा कार्यक्रममा बस्ती विकास तथा भवन निर्माण, लक्षित वर्ग, युवा तथा खेलकुद, सार्वजनिक सम्पति संरक्षण, सूचना तथा सञ्चार क्षेत्रको प्रवद्र्धनलगायत  विषय समेटिएको छ ।

त्यसैगरी उपाध्यक्ष बेनु सिवाकाटीले ३३ करोड ३३ लाख ७३ हजार ६०० रुपैयाँको बजेट प्रस्तुत गरे । बजेटमा गाउँपालिकाको आन्तरिक आयतर्फ १० करोड ७९ लाख रुपैयाँ तथा वाह््यतर्फ ३२ करोड २५ लाख ८३ हजार ६०० रुपैयाँ अनुमानित आय व्यय उल्लेख छ । 

सभामा प्रस्तुत गरिएको नीति, कार्यक्रम तथा बजेटबारे छलफल गरी  सर्वसम्मत अनुमोदन गरिएको जनाइएको छ । गाउँपालिकाका अध्यक्ष काफ्लेको अध्यक्षतामा समपन्न गाउँपरिषद् बैठकको सञ्चालन कार्यकारी अधिकृत राजकुमार शाक्यले गरेका थिए ।
 

प्रतिकृया दिनुहोस