बी एण्ड सीमा जटिल प्रकृतिका शल्यक्रिया धमाधम


साझामञ्च, प्रकाशित मिति : २०७४ ,कार्तिक , ७ 17:42:38

29764-20171024174238.jpg

बिर्तामोड । विगत अढाई वर्षदेखि यहाँ सञ्चालित बी एण्ड सी मेडिकल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरले शल्यक्रियाका क्षेत्रमा विश्वस्तरीय सेवा प्रवाह गर्न थालेको जनाएको छ ।

अस्पतालमा आज आयोजित नियमित पत्रकार सम्मेलनमा सर्जन डा. रोहितप्रसाद यादवले अमेरिकाको वासिङ्टन डिसी, वेलायतलगायतका मुलुकहरुमा जे–जस्तो प्रविधिबाट शल्यक्रिया गरिन्छ सोही प्रविधिबाट बी एण्ड सीले पनि सेवा प्रवाह गर्न सक्षम भएको दाबी गरेका हुन् ।

गत असोजको दोस्रो सातादेखि आजसम्म विभिन्न पाँचवटा जटिल अपरेशन सफलतापूर्वक गरेर बी एण्ड सीमा उच्च प्रविधिसहितका चिकित्सकले सेवा दिइरहेको प्रमाण दिएको डा. यादवले सुनाए । उनले भने ‘झापामा नै गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्न सक्षम अस्पताल तथा जनशक्तिहरु थपिएका छन्, अब उपचारका लागि अन्यत्र गइरहनु पर्ने आवश्यकता छैन ।’

हामीले आज बी एण्ड सीमा जडान गरेका उच्च क्षमतायुक्त मेसिनरी सामानको प्रयोग गरेर जुन सफलता प्राप्त गरिरहेका छौं, त्यो कसैका लागि हावादारी गफ लाग्न सक्छन् भन्दै डा. यादवले प्वाल पारेर पाठेघरको अपरेशन गरिएकी महिला बिर्तामोड निवासी मनमाया राई, धारिलो हतियारले पेटमा प्रहार गर्दा काटिएका आन्द्रा जोडेर बाँचन सफल कुमरखोदका रमेश धमलालाई प्रत्यक्ष भेट गराएर आफ्नो कामको साविती गरेका हुन् । 

सो अवसरमा अस्पतालका कार्यकारी निर्देशक दुर्गाप्रसाद प्रसाईंले अहिले झापामा महामारी जस्तै बनेको डेंगूको उपचार गर्न सिलगढी गइरहनु नपर्नेमा जाने बुझेकाहरु नै लावालस्कर लाग्ने गरेकोमा आश्चार्य प्रकट गरे । उनले थपे, ‘विश्वका गिनेचुनेका अस्पतालले प्रवाह गर्ने स्तरीय सेवा बी एण्ड सीले प्रवाह गरिरहेको छ ।’

पत्रकार सम्मेलनमा कार्यकारी निर्देशक प्रसाईंले आगामी ५ वर्षभित्रमा बी एण्ड सीमा मुटु ट्रान्सप्लान्ट सेवा भित्र्याउने लक्ष्य राखेको सुनाए ।

प्रतिकृया दिनुहोस