अधिनायकवादको ‘प्रोपोगाण्डा’ मार्फत खोजिएको वाह्य हस्तक्षेप


गोपाल खनाल, प्रकाशित मिति : २०७४ ,कार्तिक , ६ 19:48:03

29751-20171023194803.jpg

असोज १७ को बाम तालमेल र एकता घोषणाको पहिलो कार्यान्वयन कात्तिक ५ मा सुरु भयो । ३२ जिल्लाका प्रतिनिधिसभाका ३७ र  प्रदेशसभाका ७४ सदस्यमा एमाले र माओवादीले तालमेल गरे, त्यही अनुसार उम्मेद्वारी दिए ।

दशैंमा राष्ट्रले पाएको यो आश्चर्यजनक उपहारको सुखद आरम्भ भाइटीकाको भोलिपल्टबाट भयो । एमाले र माओवादीले ६०-४० को अनुपातलाई ध्यानमा राखी संयुक्त र्यालीसहित मनोनयन दर्ता गराए । संयुक्त उम्मेद्वारी दर्ताले पार्टी एकता प्रक्रिया अघि बढेको छनक दियो ।

घोषणादेखि सुरुभएको वाम तालमेलमाथिको वहस पहिलो चरणको निर्वाचनको उम्मेद्वारी दर्ता हुँदासम्म जारी छ । यो वहस नेपालमा एउटै कम्युनिष्ट पार्टी निर्माण नहुँदासम्म वा यो प्रयास असफल नभएसम्म जारी रहनेछ । बिषयगत डिस्कोर्स त नियमित प्रक्रिया नै हो ।

वाम तालमेलमाथिको वहसमाथि अनेक कोणका तर्क-बितर्कलाई पृष्ठभूमीमा राखेर मुल प्रवृत्तिलाई हेर्दा एउटा निश्कर्ष खिच्न सकिन्छ । मुलुकको बहुमत हिस्साले वाम तालमेलको खुला समर्थन गरेको छ । तालमेल र एकताको पक्षमा आएका बलिया तर्कले भन्छन्– पार्टीहरुमा तालमेल-एकता सकारात्मक र स्वागतयोग्य छ, किनकी एकताले शक्ति प्राप्त गर्छ ।

अर्को बलियो तर्कले भन्छ – कुनै पनि सरकारले कार्यकाल पूरा गर्न नपाएको खोटपूर्ण निर्वाचन प्रणाली र अवसरवादी राजनीतिक चरित्रका बीचमा यो गठबन्धनले स्थायी सरकारतर्फ डोहोर्याउँछ । संभवत वाम कार्यकर्ता र समर्थकमात्र नभएर राजनीतिशास्त्री र आम नागरिकले समेत यो गठबन्धनप्रति आशा राख्नुको पहिलो कारण त्यही हो ।

  • त्यसैले कहिं कतै पनि अधिनायकवादको संभावना छैन । फेरि कांग्रेससँग सहकार्य गर्दा प्रचण्डको लोकतान्त्रिकरण हुने र एमालेसँग तालमेल गर्दा तानाशाहीकरण हुने अनौठो तर्कलाई समाजले कसरी पत्याउँछ ? त्यसैले ध्वंशात्मक आलोचकहरुको अधिनायकवादको यो हतियारले काम गर्दैन ।    

गठबन्धनका बिपक्षमा आएका तर्क फितला छन् । ती तर्कमा राजनीतिक नैतिकतालाई आधार बनाएर माओवादी केन्द्रमाथि आक्रमण गरिएका छन् । कांग्रेस र भारतलाई एकैसाथ उच्च भोल्टको बिद्युतीय झड्का दिई माओवादी एमाले नजिक पुग्दा पूर्व सहयोद्धाको आक्रोश अनुमान गर्न सकिन्छ । वालुवाटार र ७ रेसकोर्स रोडलाई आकस्मिक आश्चर्यमा पार्दै प्रचण्डले लिएको ‘यु– टर्न’ बाट मर्माहत कोही छ भने देउवा र मोदी नै हुन्, पराकम्पन अन्य शक्ति केन्द्रले महसुस गरेको उनीहरुका राजनीतिक परामर्शबाट थाहा हुन्छ ।  

आफू अनुकूल गठबन्धन हुँदा मैत्री र स्वाभाबिक गठबन्धन हुने र अर्कासँग गर्दा अमैत्री र अस्वाभाबिक भन्ने राजनीतिक परम्परालाई महत्व नदिने हो भने अहिले कांग्रेस र भारत प्रतिरक्षात्मक अवस्थामा पुगेका छन् । यद्यपि यो गठबन्धनको उद्धेश्य भने कसैलाई प्रतिरक्षात्मक अवस्थामा पुर्याउनु होइन, कसैसँग प्रतिशोध लिनु पनि होइन । किनकि प्रतिशोधको राजनीति देशवासीलाई साक्षी राखेर गरिंदैन, यो त रणनीतिक हुन्छ ।  

यतिबेला गठबन्धनमाथि प्रहार भएको एउटा तर्क छ– यो गठबन्धन नेपालमा कम्युनिष्ट अधिनायकवाद स्थापना गर्ने उदेश्यबाट भएको हो । अर्थात् कम्युनिष्ट अधिनायकवादतर्फको यात्रा हो । एक दिन अघिसम्म शत्रुतापूर्ण व्यवहार गरिरहेका एमाले र माओवादी केन्द्र एक दिनपछि एउटै मंचमा देखिदा कम्युनिष्ट तानाशाही स्थापनाका लागि हुन् भन्ने प्रचार धोका पाएपछि देखाइएको खोटमात्र हो । 

त्यसो भए किन कम्युनिष्ट अधिनायकवाद उचालिंदैछ ? यसमा मुल दुई कारण छन् । पहिलो, कम्युनिष्ट अधिनायकवादको एकोहोरो भ्रामक प्रचार गरी वाह्य हस्तक्षेप आमन्त्रण गर्नु । दोश्रो, नेपाललाई चिनियाँ मोडलतर्फ लैजाने रणनीतिक प्रयास भन्दै वाह््य शक्ति केन्द्रलाई चीनबिरोधी गतिबिधिको प्रोक्सी युद्ध संचालन गर्न ‘स्पेस’ प्रदान गर्नु ।   

वाह्य हस्तक्षेपको उद्धेश्यसहितको अधिनायकवादको अन्तराष्ट्रियकरण 

कम्युनिष्ट गठबन्धन भनौं वा बाम, यसले न शक्तिलाई व्यक्ति केन्द्रित गर्छ न व्यक्तिगत राजनीतिक स्वतन्त्रता समाप्त गर्छ । किनकि संविधानसभाद्वारा प्राप्त वर्तमान संविधान र राजनीतिक व्यवस्थाभित्र प्रचार गरिएजस्तो अधिनायकवाद स्थापनाको बाटो नै छैन । न यो गठबन्धनले राजनीतिक वहुलवादलाई नै सिमित वा निषेध गर्छ ।

कार्यकारीद्वारा राज्यका निकायलाई कमजोर बनाउँदै नियन्त्रण गरी अधिनायकवादी सत्ता स्थापना गर्छ भन्ने हो भने त्यो पनि संभव छैन । अधिकारको दुरुप्रयोग गर्ने लोकमान सिंह कार्कीबिरुद्ध महाअभियोग लगाउन नेतृत्वदायी भूमिका खेल्ने एमाले हो भने न्यायमूर्ति सुशीला कार्कीबिरुद्ध महाअभियोग लगाउने कांग्रेस हो । अहिले ११ जना न्यायाधीशलाई हटाउने षड्यन्त्रमा पनि कांग्रेस संलग्न देखिन्छ । 

संविधानवाद, कानुनी शासन र स्वतन्त्र न्यायलयमाथि आक्रमण गर्ने कांग्रेस प्रजातन्त्रको पर्याय हुने र स्वतन्त्र न्यायलयका पक्षमा उभिने एमाले अधिनायकवादी हुने ? यो आरोपको अन्तर्य यसो होइन भन्ने कांग्रेसका नेतालाई थाहा छ । एमाले र माओवादीका नेता महत्वकांक्षी सैन्य अधिकारी होइनन्, न कट्टर धार्मिक गुरु हुन्, जसका अनुयायी सत्ताका लागि रक्तपातमा उत्रिउन् । सशस्त्र जनयुद्धको माओवादीलाई हेरेर सहकार्य गरेको माओवादी कांग्रेसले कसरी बिर्सन सक्छ ?  

त्यसैले कहिं कतै पनि अधिनायकवादको संभावना छैन । फेरि कांग्रेससँग सहकार्य गर्दा प्रचण्डको लोकतान्त्रिकरण हुने र एमालेसँग तालमेल गर्दा तानाशाहीकरण हुने अनौठो तर्कलाई समाजले कसरी पत्याउँछ ? त्यसैले ध्वंशात्मक आलोचकहरुको अधिनायकवादको यो हतियारले काम गर्दैन ।       

२०७० सालको संविधानसभा निर्वाचन परिणाम र २०७४ सालको स्थानीय निकायको निर्वाचन परिणाम हेर्दा नेपालमा बामपन्थीसँग पूर्ण बहुमत छ । ती दुई निर्वाचन भन्दा अहिले अवस्था थप सकारात्मक भएकोले त्यो प्रतिशत बढ्छ । अझ बाम गठबन्धनले केही तटस्थ मतलाई समेत आफूतर्फ आकर्षित गरेको छ । यो सबै कांग्रेसले नबुझ्ने कुरा भएन । निर्वाचनमा बाम गठबन्धनले दुई तिहाई मत ल्याउने संभावना छ । त्यसो भएमा कम्तिमा पाँच बर्षका लागि मुलुकले स्थायी सरकार पाउँछ । अर्थात् नेपालका बामपन्थीले कम्तिमा पनि पाँच बर्ष स्थायी सरकार चलाउँछन् ।

पाँच बर्षमा राम्रो गरेमा त्यसले बाम राजनीतिलाई थप स्थायी सत्तारुढ बनाउँछ । बाम गठबन्धनले राम्रो गर्ने संकेत पछिल्ला सरकारलाई हेर्दा केपी ओली सरकार र पहिलाको सरकार हेर्दा मनमोहन अधिकारीको सरकारबाट प्रमाणित नै छ । ओलीले देशको विकास र समृद्धिको सिद्धान्त-नीतिको मार्गचित्र त कोरे नै, व्यवहारिक रुपमा तिनको कार्यान्वयन पनि सुरु गरे । ओलीले इतिहासमा आफ्नो अलग पहिचान बनाए । चीनसँगको ऐतिहासिक सम्झौता ओलीले गरे, जो २०४६ पछिका कुनै प्रधानमन्त्रीले साहस गर्न सकेका थिएनन् ।

अर्थात् कांग्रेस र तिनका नेतामा बेचैनी र त्रास छायो । कुनै पनि हालतमा बाम गठबन्धनसँग लड्ने सामथ्र्य देउवा नेतृत्वको कांग्रेससँग छैन । रामचन्द्र, शशांक आफै असुरक्षित छन् । त्यसो भए अव के गर्ने ? बाह्य शक्ति गुहार्ने । कसरी गुहार्ने ? हो, यसरी यो अधिनायकवादको जन्म गराइयो । विश्वमा कम्युनिष्टहरु रक्षात्मक अवस्थामा पुगेका बेला नेपालमा कम्युनिष्टहरु मिलेर अधिनायकवाद स्थापना गर्न लागेका छन् भन्ने प्रचार गरेमा भारतलगायतका अन्तराष्ट्रिय समुदायको ध्यान आकर्षित गर्न सकिन्छ भन्ने उद्धेश्यले यो गरिएको हो ।

महाशक्ति अमेरिका र युरोपेली संघले बैचारिक दृष्टिकोणले कम्युनिष्ट र धार्मिक दृष्टिकोणले मुस्लिमलाई निशाना बनाएको देखिन्छ । अहिले कांग्रेस सभापति देउवा, रामचन्द्र पौडेलदेखि त्यहाँका युवा नेतामा समेत भारत, अमेरिका र युरोपेलीहरुलाई अधिनायकवाद स्थापना हुँदैछ, त्यसो भएमा पश्चिमाले अभ्यास गर्दै आएको प्रजातन्त्र समाप्त हुन्छ भन्ने त्रास देखाइएको छ । र, नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्न आग्रह गरिएको छ ।   

दोश्रो : बाम गठबन्धनमा चीनलाई मिसाउँदै बेइजिङबिरोधी राजनीति 

यतिबेला चीन आफैं सन् २०५० सम्ममा विश्वको महान आधुनिक समाजवादी राष्ट्र हुने कार्यक्रम तय गर्न व्यस्त छ । राष्ट्रपति सी जिनपिङले सीपीसीको जारी १९ औं महाधिवेशनको उद्घाटनमा दिएको संवोधनमा चीनले विश्वको नेतृत्व गर्ने घोषणा गरेका छन् ।

विश्वको नेता बन्ने चीनको घोषणाले अहिले गति पाएको हो । सी जिनपिङले सन् २०१३ मा राष्ट्रपति बन्दा नै महाशक्ति हुने संकेत गरेका हुन् । नेपालको भूराजनीतिक अवस्थितिका कारण भारत र चीनको चासो हुने नै भयो । अमेरिका, युरोपेली संघ लगायतका शक्तिसमेत नेपालको घरेलु राजनीतिमा नजिकबाट चासो राख्छन् ।

केपी शर्मा ओली नेतृत्वको सरकारलाई ढालेर देउवा गठबन्धनको सरकार निर्माणमा भारतको प्रत्यक्ष भूमिका रहेको सार्वजनिक छ । भारतीय संचारमाध्यमले देउवालाई भारतले प्रधानमन्त्री बनाएको हुनाले उनले भारतीय स्वार्थ प्रतिकूल काम गर्न सक्दैनन् भन्ने समाचार प्रवाह गरेकै हुन् । त्यसबेला चीन प्रतिरक्षात्मक अवस्थामा पुगेको भन्ने खालका रिर्पोट पनि नयाँदिल्लीबाट प्रेषित भएका हुन् । 

अहिले एमाले र माओवादी केन्द्रबीच बनेको तालमेल र एकताको निर्णयलाई कांग्रेस, भारतीय मिडिया र कुटनीतिक विश्लेषकले यो निर्णय चीनको सहयोगमा भएको प्रोपोगाण्डा गरिरहेका छन् । बाम एकतामा चीनको समर्थन-सद्भाव छ-छैन त्यसतर्फ बेग्लै वहस गर्न सकिन्छ । तर चीनको पहलमा नेपालमा बाम गठबन्धन-एकता बनेको भन्ने प्रचार गर्दा भारतको मात्र होइन, अमेरिका, युरोपेली संघ लगायतका शक्तिको पनि समर्थन पाइन्छ भन्ने बाहेक यसमा अर्को कुनै सत्यता छैन । नेपालमा चीनको भूमिका बढेको र त्यसले पश्चिमा स्वार्थलाई प्रतिस्थापन गर्छ भन्ने उदेश्य राखी चीनबिरोधी  राजनीतिमा काठमाडौलाई प्रयोग गर्न खोजिएको देखिन्छ । 

तर जे उद्धेश्यका लागि अधिनायकवादको यो कार्ड फालिएको छ, त्यो असफल भइसकेको छ । प्रयास भने जारी छ । घरेलु राजनीतिमा हस्तक्षेप गर्न वाह्य शक्तिलाई आव्हान गर्ने राजनीतिक दल-नेतृत्व नेपाली जनतामा मत माग्न जाने नैतिक वल कसरी जुटाउँछन् ? यसमा वहस हुनुपर्छ । 

                                                                                                               चक्रपथ डट कमबाट

प्रतिकृया दिनुहोस