उम्मेदवारका लागि ज्यूँदा देवी देवता हुन् जनता  


प्रकाशित मिति : २०७४ ,आश्विन , १८ 12:16:20

शिवसताक्षी नगरपालिका वडा नंम्बर ११ का वडाध्यक्ष

29503-20171004121620.jpg

राजनीति खेलहरुमा सबैभन्दा अप्ठ्यारो खेल हो । यो खेल असजिलो र अपत्यारिलो ढंगले जीत र हार हुने खेल पनि हो । विविध खेलका नियम र निश्चित सीमा अवधि एवम् खेल खेलाउँदाको निर्णायक पक्ष समेतको भूमिका रहने गर्छ । रेफ्रीको सिटीले मार्ग निर्देश गर्नेगर्छ । 

तर राजनीतिक खेल निरन्तर खेलिने जनजिब्रोले फोहोरी खेलको रुपमा चिनिने खेल हो । यो खेलमा जो कोहीले सफलता र असफता व्यहोर्नु पर्ने स्थिति हुँदाहुँदै पनि अप्रत्यक्षरुपले जनताको निर्णय गर्छ र अन्तिम अवस्थामा मात्र परिणाम आउने गर्छ । त्यस्तो परिणाम आफ्नो पक्षमा पार्न निक्कै मै हुँ भन्नेहलाई पनि हम्मेहम्मे पर्ने गर्छ । 

शिवसताक्षी नगरपालिका वडा नंम्बर ११ का नवनिर्वाचित वडाध्यक्ष भैरबकुमार श्रेष्ठलाई भने राजनीति सामान्य प्रक्रियाले खेलिने सहज खेल झैं लागेको छ । वि.सं. २०१६ साल साउनमा पाँचथरको भारपास्थित अर्खौलेमा देवीप्रसाद र धनमाया श्रेष्ठका माइला छोरा भैरब श्रेष्ठ भुटानको सान्चीबस्ती हुँदै अहिले शिवसताक्षी ११ झिलझिलेमा बसोबास गर्छन् । २०२२ सालदेखि झिलझिलेलाई कर्मथलो बनाएका श्रेष्ठ सो क्षेत्रका गिनेचुनेका समाजसेवी पनि हुन् । 

गरिब तथा मजदुरहरुको पक्षमा बोल्न र काम गर्न रुचाउने उनी सुरुदेखिनै माक्र्सवादबाट प्रभावित भएको बताउँछन् । २०४६ सालको जनआन्दोलनताका बहुदलवादी बनेका उनी प्रजातन्त्र प्राप्तीपछि कम्युनिस्ट कार्यकर्ता बनेको सुनाउँछन् । उनले २०५७ सालमा तत्कालिन नेकपा मालेको र पछि नेकपा एमालेको पार्टी सदस्य बन्न सफल भए । 

उसबेलादेखि एमालेको पार्टी सदस्यका रुपमा विभिन्न जिम्मेवारी सम्हाल्दै आएका श्रेष्ठ अहिले शिवसताक्षी नगरकमिटी सदस्यको जिम्मेवारीमा छन् । सामान्य खेती किसानीबाट जीवन गुजारा गर्दै आएका श्रेष्ठले २०४९ सालदेखि निर्माण व्यवसायमा आवद्धता जनाए । उनले निर्माण व्यवसायी संघको झापा जिल्ला सदस्य एवम् निर्माण उद्योग परिषद झापाको उपाध्यक्षको भूमिकासमेत सफलतापूर्वक निर्वाह गरेको सुनाउँछन् । 

समाजमा मानिसलाई कुनै पनि पद प्राप्त गर्न फलामको चिउरा चपाउनु जतिकै गाह्रो र सारो हुनेगर्छ । तर राजनीतिक पक्ष होस् या व्यवसायका अन्य पदहरुमा हुन् भैरबकुमार श्रेष्ठका लागि यी सहजै प्राप्त हुने गर्छन् । वि.स. २०५९ सालमा वडा कमिटीको सदस्य बनेका श्रेष्ठले तत्कालिन नेकपा एमाले सतासीधाम गाउँ कमिटीमा लगातार दशौं वर्षसम्म संलग्न रहँदै उपाध्यक्ष समेतको जिम्मेवारी पूरा गर्न सफल भएका थिए । 

कामप्रतिको लगाव, जिम्मेवारीप्रतिको उत्तरदायित्वबोध र कार्यकौशलको मूल्याङ्कन गरी उनको पार्टी नेकपा एमालेले हालैको स्थानीय तह निर्वाचनमा शिवसताक्षी नगरपालिका वडा नं. ११ बाट वडाध्यक्षको उम्मेदवार बनायो । टिकट त प्राप्त भयो तर चुनाव जित्न श्रेष्ठलाई गाह्रो पर्ला भन्ने धेरैले अड्कल काटेका थिए  । ‘तर मलाई भने कुनै संकोच थिएन’ श्रेष्ठले त्यसबेलाको अनुभव सुनाउँदै भने ‘प्रतिस्पर्धा कडा थियो तर मैले यसअघि निर्वाह गरेका जिम्मेवारी र जनसेवाले नै मलाई विश्वस्त बनाएको हो । आफू विजयी बन्ने कुरामा म लगभग ढुक्कजस्तै थिएँ’ श्रेष्ठले साझामञ्चलाई सुनाए ।

‘स्पष्ट कुरा राख्ने, कम बोल्ने, समस्यालाई नियालेर बुझ्ने, कामको निरीक्षणमा आफैं खट्ने, शालिन र भद्र व्यक्तित्वका धनी हुन्, भैरवकुमार श्रेष्ठ जनताको सच्चा सेवक हुन्’ उनलाई मतदान गर्ने केही मतदाताको भैरव दृष्टिकोण हो यो । उनी आफू पनि जनताको मन जित्न सके सधैं सफल भइने विश्वास व्यक्त गर्छन् ।

२०३७ साल वैशाखमा बाहुनडाँगीको बहादुरगञ्ज निवासी बुद्धिमान र नैनकला प्रधानकी छोरी लक्ष्मी प्रधानलाई जीवन संगिनी बनाएका भैरवका दुई छोरा र एक छोरी छन् । उनीहरुलाई शिक्षा दिक्षा दिई विवाह कार्यसमेत सम्पन्न गराएका भैरवले निर्माण व्यवसायको जिम्मा छोराहरुलाई सुम्पिएका छन् । व्यवसायिक जिम्मेवारी छोराहरुलाई सुम्पिए पछि उनले सामाजिक तथा राजनीतिक क्षेत्रमा गहकिलो कदम अघि बढाएका उनी शिवसताक्षी कै सफल राजनीतिक खेलाडीको रुपमा आफ्नो पहिचान बनाएका छन् । 

निकै तडक भडक र खर्चिलो बन्दै गएको वर्तमान निर्वाचन प्रक्रियामा जनता जनार्दन नै सच्चा भगवान भएको बताउने श्रेष्ठ निर्जीव मूर्तिलाई फूलपाती चढाएर धर्म प्राप्त नहुने जिकिर गर्छन् ।  उनी भन्छन्, ‘ज्यूँदा देवी देवता जनता हुन्, उहाँहरुको पीरमार्कामा सकेको सहयोग गर्नु आफ्नो धर्म सम्झेका छु ।’ निरन्तर जनताको काममा लागि परे, जनतालाई विश्वासमा लिए, दुःखसुखमा जनताका साथमा उभिन सकियो भने र जनता मालिक हुन् भन्ने ठानेर सम्मान, आदर र सहयोगका हातहरु अघि बढाइरहँदा चुनावमा जीत भन्ने कुरा समान्य भएको उनको तर्क छ । भन्छन्, ‘चुनाव जित्नु ठूलो कुरा होइन तर जनताको आकांक्षाअनुसार सेवा गर्न सकिन्छ कि सकिँदैन भन्ने कुरा चाहिँ ठूलो हो ।’  कसैको पनि आस्थामा आँच आउने कार्य नगर्ने संकल्प गर्दै जनताका सरोकारका विषयमा साथ दिन आफू नचुक्ने उनले प्रतिवद्धता पनि गरिरहेका छन् । 

राजनीति केवल आस्थाका लागिमात्र नभएर यो जनताका लागि हुनुपर्छ भन्ने मान्यता राख्ने उनले साउन अन्तिममा आएको वर्षा र बाढीका कारण नदी कटान भइरहँदा रोकथामका लागि आफ्नो घरमा भएको तारजाली र माटो भर्ने बोरा व्यक्तिगतरुपमा तत्कालै उपलब्ध गराएर यसको उदाहरण पेश गरिसकेका स्थानीय बताउँछन् । उनले आफ्नो गाउँ र वडाका युवा परिचालन गरेर भत्काउँदै गरेको कल्भर्ट जोगाउन गरेको प्रयासलाई देख्नेहरुले वडाध्यक्ष त भैरव श्रेष्ठजस्तो क्रियाशील मानिस पो हुनुपर्ने रहेछ भनेको सुनिन्थ्यो । यसैले त उनी सामाजिक व्यक्तित्वसहितका एक कुशल राजनीतिकर्मी पनि बन्न सफल भएका हुन् । 

                                                                                                                                                                       प्रस्तुतिः सरोज भट्टराई

प्रतिकृया दिनुहोस