कोरियामा सिरिजङ्गा सांगीतिक कार्यक्रमको सबै तयारी पूरा


साझामञ्च डेस्क, प्रकाशित मिति : २०७४ ,आश्विन , १५ 05:10:08

29457-20171001051009.jpg

झापा । कोरियाको महान चाड छुसकको अवसर पारेर अक्टोबर ३ तारिखमा दक्षिण कोरियाको फेकजुन्यन खिम्न्यमग्वान,जोङ्नो ओगामा गरिने बृहत सांगीतिक कार्यक्रमको आवश्यक तयारी पूरा भएको छ । 
 
ऐतिहासिक हिलीहाङ दरबार संरक्षण एवम् सम्बद्र्धन गर्नका लागि सहयोग जुटाउने उद्देश्यले किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाले आयोजना गर्न लागेको सिरिजङ्गा सांगीतिक कार्यक्रमको सबै तयारी सकिएको आयोजक संस्थाले जनाएको हो । दक्षिण कोरियास्थित चुम्लुङका अध्यक्ष सुन्दरदीप आङ्देम्बेका अनुसार चौथो संस्करणको सो सांगीतिक कार्यक्रमको आन्तरिक तयारी पूरा भएसँगै सहभागी आमन्त्रित कलाकारहरु सम्पर्कमा आउन थालेका छन् । 

सांगीतिक कार्यक्रम भव्य र सभ्यरुपमा सम्पन्न गर्न त्यहाँका सबै जातीय संस्था तथा शुभेच्छकुहरुबाट सहयोग प्राप्त हुने विश्वास लिएको सुनाउँदै सबैको सहयोगका कारण नै यसवर्ष पनि छुुसक चाडमा गर्न लागिएको कार्यक्रम पूर्णरुपमा सफल हुने अध्यक्ष आङदेम्बे बताउँछन् ।

कार्यक्रममा नेपालमा रुचाइएका गायक राजनराज शिवाकोटीसहित आधा दर्जन बढी चर्चित कलाकारहरुको बेजोड प्रस्तुति रहने छ । गायक शिवाकोटीको “सुर्के थैली खै” “कुटुमा कुटु” “पूर्वपश्चिम रेल” जस्ता गीतले लाखौं नेपालीहरुको मन जितिसकेको छ । 

त्यसैगरी हट मोडल तथा लोकदोहोरी गायिका ज्योति मगरको विशेष प्रस्तुति रहने जनाइएको छ । त्यसैगरी सांगीतिक कार्यक्रममा नेपाल आइडलकी प्रतिष्पर्धी गायिका प्रमिला राईदेखि आधुनिक गीत संगीतका श्रष्टा गायक कुशल थुलुङ, हट डान्सर चन्दा दाहाल र स्थानीय गायक देबेन चेम्जोङ र अप्सन लिम्बूको पनि प्रस्तुति रहने आयोजक संस्थाले जनाएको छ ।
 
‘हैट’ नामले चिनिएका हाँस्य कलाकार बुद्धि तामाङले समेत भरपुर मनोरञ्जन प्रदान गर्नेछन् भने कार्यक्रम सञ्चालनका लागि दमकका सिर्जना सुब्बा निङ्लेखुले साथ दिनेछिन्, अध्यक्ष आङदेम्बेले बताए ।

प्रतिकृया दिनुहोस