प्रविधिको दुरुपयोग साइबर अपराध


विरोध सुवेदी, प्रकाशित मिति : २०७४ ,आश्विन , १२ 15:14:07

29436-20170928151407.jpg

युवा शक्ति देशका मेरुदण्ड हुन् । युवाकै पौरखमा देश धानिएको हुन्छ । परिवर्तन उनीहरुकै बलिदानले भएको हुन्छ । हाम्रो देश पनि तिनै युवाहरुको पौरखले धानिएको छ । कहिले आन्दोलनको अग्रपंक्तिमा रहेर राजनीतिक क्रान्ति गर्दै त कहिले खाडीमा पुगेर रेमिट्यान्स भित्र्याउँदै । तर राज्यको यस्तो संवेदनशील शक्ति गलत ठाउँमा प्रयोग हुन थाल्यो भने देशकै भविष्य कति भयाभह होला ! हाम्रो समाज पनि अहिले केही कुसंस्कारको दुर्गन्धले दुषित हुँदैछ र त्यसको जिम्मेवारी तिनै युवाले लिनुपर्छ । केही कु–संस्कारले त अपराध कै चरण प्रवेश गरिसकेका छन् । तिनै मध्येको साईबर अपराध बारे यहाँ चर्चा गरिएको छ । 

सरल रुपमा बुझ्दा इन्टरनेटको माध्यमबाट कसैलाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा हानी पुर्याउनुलाई साईबर अपराध भनिन्छ । प्रविधिको विकासले इन्टरनेटको प्रयोग व्यापक भइसकेको यो अवस्थामा हाम्रो देशमा पनि इन्टरनेटका प्रयोगकर्ता बढिरहेका छन् । विशेष गरेर सामाजिक सञ्जालको प्रयोग बढी हुने गरेको छ । तर पर्याप्त ज्ञानको अभावमा हामी सामाजिक सञ्जाल प्रयोगको विधि र विधानको परिधि नाघिरहेका छौँ । कहीँ जानेर त कहीँ अन्जानमै हामी अपराध गरिरहेका छौँ । 

अर्काको फोटो प्रयोग गरेर नक्कली एकाउन्ट बनाउने, ह्याक गर्नेदेखि सामाजिक सञ्जालमा जे लेखे पनि हुन्छ भन्ने ठानेर अर्काको मानहानी गर्ने, चरित्र हत्या गर्नेलगायतका गतिबिधि व्यापक रुपमा भइरहेका छन् । साइबर अपराध न्यूनीकरण गर्ने कानूनको अस्पष्टता, फितलो कार्यान्वयन र प्रशासन सम्म पुग्ने पीडितको असमर्थताले साइबर अपराधले व्यापकता पाइरहेको हो । विशेष गरेर मानहानीका घटना बढिरहेका छन् । कुनै व्यक्ति, सामाजिक संस्था, राजनीतिक दल, जाति, धर्म, सम्प्रदाय, लिङ्ग माथि बिना प्रमाणका आरोप लगाउने, होच्याउने, समाजमा अपाच्य हुने खाल्का कार्टुन बनाउने, अश्लिल शब्दहरु प्रयोग गर्ने आदि क्रियाकलाप सामाजिक सञ्जालमा हामी गर्दैछौँ भने त्यो साइबर अपराध हो । हाम्रो त्यस्तै गतिविधिका कारण विभेद बढिरहेको छ ।

मधेशी र पहाडी बीचको विभेद बढ्नुमा सामाजिक सञ्जालको भूमिकालाई नजर अन्दाज गर्न हुँदैन ।कुनै मधेशी नेताको कुनै तर्कको जवाफमा पूरै मधेशी जनता विरुद्ध बिष बमन गर्ने, त्यस्तै नियति पहाडी जनता विरुद्ध दोहोर्याउने काम भइरहेका छन् । एक धार्मिक नेताको तर्क खण्डन गर्न त्यस धर्म विरुद्ध नै अश्लील शब्दहरु प्रयोग गर्नेजस्ता क्रियाकलापले समाजलाई असहिष्णु बनाइरहेको छ । कुनै एक राजनीतिक दलमा आवद्ध कुनै व्यक्ति चारित्रिकरुपमा गलत भेटियो भने पूरै पार्टी र त्यसमा आवद्ध अन्य व्यक्ति विरुद्ध मनोमानी लेख्ने, जनप्रतिनिधिहरुको मान मर्यादाको हेक्का नराखी अश्लील गाली गर्ने, राष्ट्र प्रमुख, सरकार प्रमुख जो सुकै विरुद्ध जे पनि लेख्नेलगायतका काम खुल्लम् खुल्ला भइरहेका छन् । यस्ता अपराधको बेलैमा जरा काट्न सकिएन भने भयानक दुर्घटना निम्तिन सक्छ । 

लोकतन्त्रको अभ्यास गरिरहेको हाम्रो जस्तो मुलुकमा सम्पूर्ण नागरिकको वाक अधिकार सुरक्षित हुन्छ । आफूलाई चित्त नबुझेको कुराबारे खुलेरै बोल्न पाइन्छ । आफ्ना जनप्रतिनिधिसँगका गुनासा अभिव्यक्त गर्न सकिन्छ । राज्यले गरेको दमन विरुद्ध बोल्न पाइन्छ तर सभ्य र शिष्ट भाषाको प्रयोग गरेर विधि सम्मतरुपमा स– प्रमाण तार्किक कुरा राख्नु पर्छ । तर आजको हाम्रो समाजको अवस्था हेर्दा यस्तो प्रक्रियामा आउने युवा जमात अत्यन्त न्यून छ । 

साइबर अपराधलाई न्यूनीकरण गर्न कारवाही प्रक्रियालाई व्यापकता दिइनु पर्छ । प्रशासन अझैँ सक्रिय हुनुपर्छ । विदेशमा भएकाले म सुरक्षित छु भन्ने अवस्थासमेत आउन दिनु हुन्न । राष्ट्रपति विरुद्ध मनोमानी लेख्ने एक युवकलाई नियन्त्रणमा लिएको समाचारले एक हदसम्म सावधान गराएको छ । प्रहरीले भर्खरै भरतपुरका नगरप्रमुख रेणु दाहाललाई गाली गलौज लेखेको आरोपमा अर्का एक युवकलाई पक्राउ गरी कारवाही गरेको छ । साइबर अपराधको छानविन काठमाडौंमा मात्र हुने वर्तमानको परिपाटीलाई विकेन्द्रित गरिनु पर्छ र कारवाही प्रक्रिया चुस्त बनाइनु पर्छ । 

अपराधीलाई कानूनी प्रक्रियामा ल्याउन पीडित पक्ष वा समाजका सरोकारवाला सबैको अग्रसरता हुनुपर्छ । कतिपय अवस्थामा सम्भावित पीडितको पहिचान गरी उनीहरुलाई सचेत गरेको खण्डमा जोगिन सक्ने अवस्था समेत रहन्छ । आफ्नो सामाजिक सञ्जालमा खोलिएका एकाउन्टहरु कसरी सुरक्षित राख्ने भन्ने बारे जानकारी गराउन सकिन्छ ।

कस्ता एपहरु चलाउन हुँदैन भन्ने बारे सचेतना दिन सकिन्छ । कसैले नक्कली एकाउन्ट सञ्चालन गरेको शंका भएमा कारवाहीको दायरामा कसरी ल्याउने, आफ्नो तस्वीर आफ्नो अनुमति बिना गलत ठाउँमा प्रयोग भएमा प्रहरी कार्यालयमा रिपोर्ट गर्नेलगायतका जानकारी सम्पूर्ण प्रयोगकर्ताहरु समक्ष पुर्याउन सामाजिक अभियन्ताहरुले महत्वपूर्ण भूमिका खेल्नुपर्छ । तबमात्र साइबर अपराध न्यूनीकरण हुनेछ, नत्र आजकै गतमिा सामाजिक सञ्जालहरुको दुरुपयोग बढ्ने हो भने यसले एक दिन भयाभह स्थितिको सिर्जना गर्ने निश्चितजस्तै छ ।

(लेखक सुवेदी रोट्याक्ट क्लब अफ बिर्तामोडका पूर्व सचिव हुन् ।)

प्रतिकृया दिनुहोस