स्थानीयता, लोकसाहित्य तथा ग्लोबलाइजेसन


भक्ति शिवाकोटी, प्रकाशित मिति : २०७४ ,आश्विन , १० 10:48:33

29412-20170926104833.jpg

आज म २१औं शताब्दीको संघीय नेपालको प्रदेश नं. १ मा छु । संघीयताको आधार स्थानीय निकायको भरखरै निर्वाचन सम्पन्न भई स्थानीय निकाय जनप्रतिनिधि सम्पन्न भएको छ । गणतन्त्रात्मक नेपालमा कस्तो संघीयता भन्ने विषयमा प्रशस्तै तर्क, वितर्क तथा विवाद भइरहेकै छन् । 

सत्तामा बस्ने शासकहरू नै स्वयम् दिग्भ्रमित देखिन्छन् । संघीय नेपालका विवादका मुख्य विषय थिए– जातीय पहिचानसहितको संघीयता वा आर्थिक सामथ्र्यसहितको संघीयता । आर्थिक सामाथ्र्यका पक्षधरहरु हिमाल, पहाड तथा तराइलाई टुक्राउन नहुने तर्क पेश गर्छन् । 

संघीय नेपालमा संघीयता बिरोधी अर्को पक्ष पनि देखिन्छ । उक्त पक्षको दृष्टिकोणमा संघीयता भनेको देशको विघटन हो । संघीयतासँगै जन्मिएको धर्म निरपेक्षता हिन्दू धर्म सिध्याउने भयङ्कर ठूलो पश्चिमेली षड्यन्त्र हो । यिनै सामाजिक तथा राजनीतिक उतार चढाव, पक्ष विपक्षको बीचमा म आफ्नो स्थानीय परिवेशमा बाँचेको छु ।

धेरै वर्ष अगाडि जब म १३–१४ वर्षको थिएँ र स्कुले जीवन धानिरहेको थिएँ, आज त्यही सम्झिरहेको छु । त्यतिखेर म झापा जिल्लाको उत्तरी भेग शनिश्चरे माविमा अध्ययन गर्दथें । हरेक वर्ष पुष १ र पुष १४ गते हामीलाई बिहान सातबजे स्कुलमा अनिवार्य उपस्थित हुन प्रधानाध्यापकबाट उर्दी जारी हुन्थ्यो । 

त्यतिखेर हामी अधिकांश विद्यार्थीको परिवेश निम्न मध्यम वर्गीय थियो । अहिलेजस्तो त्यतिखेर प्राइभेट बोर्डिङ झापामा थिएनन् । अङ्ग्रेजी स्कूल पढ्न या त दार्जीलिङ, खर्साङ या काठमाडौं जानु पर्दथ्यो । अङ्ग्रेजी स्कुल पढाउने हैसियतमा झापाका केही सम्भ्रान्त परिवार मात्र थिए । 

पुषको बिहानको कठाङ्ग्रिँदो जाडोमा खाली खुट्टा एउटा पातलो सर्ट र स्वीटरको भरमा हामी शनिश्चरे स्कूलमा उपस्थित हुन्थ्यौं । स्कूल जानु अगाडि आमा भन्नुहुन्थ्यो– “कान्छा अब एकछिनमा घाम तातिहान्छन् । केटाकेटीको जाडो बाख्राले खान्छ ।” हामी स्कूलमा बडो फूर्ति तथा उत्साहको साथमा लामबद्ध भएर नारा लगाउँदै बजार परिक्रमा गर्दथ्यौं । 

सर भन्नुहुन्थ्यो– “हाम्रा राजा हाम्रो देश” हामी भन्थ्यौं– “प्राणभन्दा प्यारो छ ।” सर भन्नुहुन्थ्यो– “एउटै भाषा एउटै भेष” हामी अझ जोसिएर नारा लगाउँथ्यौं– “प्राणभन्दा प्यारो छ ।” 

१०–११ बजेतिर हामी राजाको गुनगान सकेर भोको पेटमा घर फर्कन्थ्यौं । त्यतिखेर खाली खुट्टा, जाडो र भोकका बीच पनि हामी खुशी हुन्थ्यौ । त्यो दिन हामी दैनिक क्लासमा बसेर पढ्न परेन, सरको सोधाई तथा भौतिक पिटाइबाट हामी भुक्त थियौं । 

शनिश्चरे बजारको बीचमा त्यतिखेर एउटा प्रसिद्ध होटल थियो । त्यो होटलवाला बिहानैदेखि नै तातो तातो चिया र सखुवाको दाउरामा सबैले देख्ने गरी तातो तातो सिङ्गडा तारिरहेको हुन्थ्यो । हाम्रो भोको पेट तथा नाकले स्कूलबाट निस्कने बित्तिकै सिङ्गडाको मिठो सुगन्धको आस्वादन गर्दथ्यो । तर जिब्रोले उक्त सिङ्गडाको स्वाद लिन हामीसँग पैसा हँुदैनथ्यो । हामी होटलको नजिक पुगेर घुटुक्क थुक निल्दथ्यौं र अगाडि बढ्थ्यौं । सरहरू होटलमा पसेर गफ गर्दै सिङ्गडा, रसदाना खानुहुन्थ्यो । हामीसँग मात्र इस्र्याको नजर हुन्थ्यो उहाँहरूलाई हेर्ने । 

घर फर्कंदा बाटामा छेउछाउका बारीमा सुठुनी रोपेको हुन्थ्यो । छेउछाउमा मान्छे देखिएनन् भने सुठुनी उखेलेर हातले माटो पुस्दै खान्थ्या । जुन साथीले ठूलो सुठुनी चोरेर ल्याउँथ्यो त्यो हिरो हुन्थ्यो, हाम्रो माझमा । त्यतिखेरको मेरो परिवेश पूर्णतः कृषिजन्य ग्रामीण थियो ।

करिब ३५ वर्षपछि म आज र हिजोलाई तुलना गर्दछुुुु् । आज समयले अर्कै पहिरन पहिरी सकेको छ । मेरो हिजोको सुन्दर कृषिजन्य ग्रामीण परिवेश शहरीकरणतर्फ उन्मुख भइसकेको छ । पहिलेको जीवन कठिन थियो, अहिलेको जीवन बढी सजिलो भएको छ । तर पहिलेको जीवन सरल थियो, अहिलेको जीवन जटिलोन्मुख भएको छ ।

यही बीचमा हामीले सामाजिक तथा राजनीतिक परिवर्तनलाई भोगिसकेका छौं । समाजमा धेरै परिवर्तन भएको छ । ‘एउटै भाषा र भेषको’ नेपाल बहुभाषा, बहुसंस्कृति, बहुल भेषको नेपाल हुन लालयित देखिन्छ । नयाँ परिवेशमा थुप्रै विरोधाभाष, विकृति, विसङ्गति हावी भएको छ । तर पनि मेरो परिवेश पक्कै पनि केही न केही नविनतामा प्रवेश गरेको छ ।

विश्वव्यापी रूपमा पनि मेरो वर्तमान युग थुप्रै विरोधाभाष र विसङ्गतिले भरिएको युग हो । सृजनशील तथा सफल नेतृत्वले यही विरोधाभाष र विसङ्गतिको बीचमा सङ्गति र बहुल रागयुक्त सुन्दर सङ्गतिको निर्माण गर्दछ । असक्षम नेतृत्व मानवीय कुटिल स्वार्थ, विरोधाभाष र पतनको नमूना भएर विसङ्गति र विकृतिको रङ्गमञ्चमा अर्थहीन पात्र भएर हराएर जान्छ । हाम्रो युग विश्वव्यापीकरण तथा ग्लोबलाइजेसनको युग हो भने यो युग स्थानीयता तथा लोक संस्कृति र लोक साहित्यको उत्थान र पहिचानको युग पनि हो । 

मलाई खुसी लाग्छ– मेरो युगमा ‘लोकल’ र ‘ग्लोबल’ सँगसँँगै बाँचेका छन् । काठमाडौका महङ्गा होटलमा विदेशी ह्वीस्वी र नेपाली लोकल रक्सी सँगसँगै राखिएका छन् । त्यहाँ विदेशी रक्सीको भन्दा नेपाली स्वादको रक्सी बढी मन पराइन्छ ।

गत वर्ष मैले नेपालका सतार जातिको लोक साहित्यलाई सानो आँखीझ्यालबाट अध्ययन गर्ने मौका पाएँ । उक्त क्रममा मैले अमेरिकाका आदिवासी ‘रेड इण्डियन’ तथा अफ्रिकाका केही लोक साहित्यको पनि सतही अध्ययन गरेँ । म अचम्मित भएँ– संसारभरिको लोक साहित्य एउटै निश्चित मियोको वरिपरि घुमेको रहेछ । 

मैले नेपालमा सतार जातिको सृष्टिको कथा पढेँ । कथाले भन्छ– ‘गड्यौलाले समुद्रमुनी (पाताल)बाट माटो ल्यायो, त्यसपछि पृथ्वीमा जमिनको सृष्टि भयो ।’ अमेरिकन ‘रेड इण्डियन’ लोककथाले भन्छ– चराले समुद्रमुखीबाट चुच्चोमा माटो ल्यायो, त्यसपछि जमिनको सृष्टि भयो ।’ 

हाम्रो मेचे जातिको कथाले भन्छ– ‘मागुर माछाले समुन्द्र मुनिबाट मटो ल्यायो, त्यसपछि भगवानले जमिनको सृष्टि गरे ।’ कथामा बाहिरी पात्रहरू मात्र फरक छन्– ‘कथाको सार संसारभरिको लोक साहित्यमा लगभग समान छ । 

लोक संस्कृतिविद् तथा समाजशास्त्री भन्छन्– ‘धाँमी, झाँक्री, धर्म संसारको सबैभन्दा प्राचीन धर्म हो । उनीहरू प्रमाणित रूपमा भन्छन्, ‘नेपालमा मध्यपहाडी क्षेत्रका धाँमी, झाँक्री र सुदुर साइवेरिया (रसिया) का धाँमी झाँक्रीको मन्त्रमा, पद्धतिमा भाषाको मात्र भेद छ, अरू सबै कुरा समान छन् ।

मलाई लाग्दछ अबको नयाँ संघीय नेपालमा हामीले हरेक लोक संस्कृति र लोक साहित्यलाई समान रूपमा फल्न र फुल्न दिनुपर्छ । नेपाल एउटै भाषा र भेषको देश हैन त्यो बहुलभाषा र भेषको देश हो । यहाँका सबै भाषा र भेष समान रूपमा बहुमूल्य छन् । हाम्रो लोक संस्कृति र साहित्य हाम्रो मात्र नभई समग्र मानव सभ्यताकै अमूल्य निधि तथा सम्पदा हुन् । 

हाम्रो लोक साहित्य मानवीय विकासको क्रममा एउटा जीवन्त दस्तावेज हो । यसको लोप हुनु भनेको मानव सभ्यताको एउटा कडीको लोप हुनु हो । संसारभरिका लोक साहित्यमा एउटै प्राण तथा स्पन्दन देखिन्छ । बाहिरको विविधताले सुन्दर बहुरङ्गी चित्र निर्माण गर्दछ । 

मलाई लाग्दछ, लोक साहित्यको अध्ययन तथा उत्थानले मात्र भोलिको सुन्दर निरपेक्ष, बहुलरङ्गको विश्व समाजको हामी निर्माण गर्न सक्दछौं । लोक साहित्यमा विश्व साहित्य र विश्व चेतनाको विऊ लुकेको छ । 

प्रतिकृया दिनुहोस