परिवर्तनको लागि रंगमञ्च आवश्यक: रंगकर्मी शर्मा  


प्रकाशित मिति : २०७४ ,आश्विन , ९ 06:45:12

29388-20170925064512.jpg

गाउँमा रहेर निरन्तर रंगकर्म गरिरहेका रंगकर्मी युवराज शर्मा (३४) सोलुखुम्बु जिल्लाको नेचा सल्यास गाउँपालिका वडा नं. ३ मा बस्छन् । बुबा भवानीशंकर शर्मा र आमा ओमकुमारी शर्माको जेठो सन्तानका रुपमा जन्मिएका युवराज समाज रुपान्तरण कै निम्ति गाउँमा रहेर रंगमञ्चको विकास गर्ने सोचमा छन । उनले हालै मण्डला थिएटर नेपालले आयोजना गरेको तीन हप्ते नाटक निर्देशन वर्कशप सकेका छन् । रंगकर्म सेरोफेरोमा रहेर शर्मासँग गरिएको कुराकानी । 

कहिलेबाट रंगमञ्चमा काम गर्न थाल्नुभो ?

गाउँ घरमा हुने सामान्य मेलापात हाट बजार, विभिन्न सांकृतिक कार्यक्रम हुँदै २०५३ सालमा मेरो आपm्नै लेखन तथा निर्देशनमा “अधुरो सपना” नाटक मञ्चन गरेसँगै रंगमञ्चको औपचारिक यात्रा सुरु भयो । त्यसपछि २०५४ सालमा हरियाली वातावरण, २०५६ सालमा परदेशी छोरो, २०६० सालमा परिवर्तन नाटक निर्देशन गरेँ । २०७१ सालमा मण्डला थिएटर नेपालको नाटक मितज्यूलाई सोलुखुम्बु जिल्लामा नै पहिलो पटक ‘ब्ल्याक बक्स भित्र’ (आधुनिक प्रविधिको प्रयोग गरी) ९ पटक नाटक प्रदर्शन गरियो । त्यसपछि २०७२ सालमा मैले ‘हिँडेका बाटाहरु’ नामक नाटक निर्देशन पछि केही वर्षको ग्याप पछि अहिले निरन्तर छु ।

रंगमञ्चमा काम गर्ने प्रेरणा कसरी पाउनु भयो ?

सुरुमा त गाउँमा हुने नाचगानहरु हँदा रमाइलोको लागि सहभागी हुने गरिन्थ्यो । पछि अलि बुझ्ने भएपछि समाजमा हुने सामाजिक भेदभावदेखि विभेद, सामाजिक कुरितिसम्मले छुन थाल्यो । अनि यसलाई हटाउन जनचेतनामुलक कार्यक्रम गर्नुपर्छ भन्ने उद्देश्यले मैले नाटकलाई एउटा माध्यमको रुपमा छानेँ । केही नाटकहरु लेखन तथा निर्देशन गरेँ । त्यति बेलाको मेरो उद्देश्य नितान्तरुपमा समाजको परिवर्तन नै थियो । यसरी हेर्दा मेरो प्रेरणा भनेका समाजका विभेद, भेदभाव र विकृति–विसंगति नै हुन् ।

तपाईंले संस्था नै किन स्थापना गर्नुभयो ?

हामीले अनौपचारिक रुपमा पहिल्यैबाट काम गर्दै आएका थियौं । बिस्तारै नाटकको विकासका लागि औपचारिक रुपमा नै संगठित हुनुपर्ने आवश्यकता महसुस गरियो । र, २०७२ सालमा सगरमाथा नाट्य समूह नाममा संस्था दर्ता गरियो । विशुद्ध रुपमा नाटकमा काम गर्ने यो नै सोलुखुम्बुको पहिलो नाटक संस्था पनि हो ।

नाट्य समूहले के कस्ता काम गर्दै आएको छ ?

विभिन्न समयमा जनचेतनामूलक सडक नाटक प्रस्तुत गर्ने गरेका छौं । स्थानीय स्रोत साधनको प्रयोग गरेर आधुनिक नाटक मञ्चन गर्दै आएका छौं । विभिन्न साँस्कृतिक कार्यक्रम साथै स्थानीयस्तरमा भएका कलाकारको क्षमता वृद्धिका लागि वर्कसप तथा गोष्ठीको समेत आयोजना गर्ने गरेका छौं ।

रंगमञ्चबाट पस्किएको प्रस्तुतिले समाजमा कस्तो प्रभाव पारेको छ ?

समाज परिपर्तनमा समुदाय कै बढी चासो भएको पाइन्छ । त्यसमा रंगमञ्चमार्फत् देखाइने समाजमा हुने गरेका घटनाहरुका सकरात्मक तथा नकरात्मक असरहरुले गाउँमा प्रभाव पारेको हुन्छ । समुदायका मानिसहरु र रंगमञ्चबीचको अन्तरक्रियाले सामाजिक घटनात्रंmमहरुलाई हेर्ने दृष्टिकोणमा परिवर्तन गरेको छ । मानिसहमा उत्सुकता थपेको छ । जसले मानिसमा हुने बुझाइको तहलाई विकास गरेको छ । समाजका धेरै सामाजिक मुद्दाहरुलाई नाटकले उठाउने गर्छ र त्यसले पारेको असरलाई जस्ताको तस्तै देखाउँछ । जसले हाम्रो सामाजिक, आर्थिक स्थितिलाई समेत चित्रित गरेको हुन्छ । यसरी हेर्दा समाज रुपान्तरणमा रंगमञ्चले महत्वपूर्ण भूमिका खेलेको पाइन्छ ।

रंगमञ्च किन आवश्यक छ ?

रंगमञ्च भनेको समाजको ऐना हो । यसले समाजमा भएका राम्रा नराम्रा पक्षलाई प्रस्तुत गरेर राम्रा कामलाई प्रोत्साहन र नराम्रा कामलाई निरुत्साहित गर्दछ । यसले समाजमा हुने समस्याका कारणलाई खोजी गर्छ र केही हदसम्म समस्या निराकारणका उपायहरुसमेत खोजी गर्दछ । यसरी हेर्दा समग्र समाज परिवर्तनका लागि रंगमञ्च आवश्यक छ भन्ने लाग्दछ ।

                                                                                                                                                            प्रस्तुतिः चेतन आङथुपो

प्रतिकृया दिनुहोस