झापा जिल्ला निर्वाचन अधिकारी गोपाल आचार्यलाई सात प्रश्न 


साझामञ्च प्रतिनिधि, प्रकाशित मिति : २०७४ ,श्रावण , २५ 11:50:40

27655-20170809141405.jpg

 

 

 

 

 

 

 

 

 


 

 

स्थानीय तह निर्वाचन २०७४ को तयारी बारेको अनुभव सुनाइ दिनुहोस् न ।

वास्तवमा निर्वाचन भनेको बृहत व्यवस्थापकीय कार्य हो । यसको तयारीमा सिङ्गो राज्य संयन्त्र जुटेको हुन्छ भने निर्वाचन व्यवस्थापन निकायका कर्मचारीका नाताले हामीले अहोरात्र खटिनु पर्ने हुन्छ । तैपनि कतिपय कमी कमजोरी हुने गर्छन् र भए पनि होलान् ।

मतदान र मतगणना अवधिका रोचक पक्ष केही पाउनु भयो ? सुनाउनुस् न ।

प्रथमतः वर्षातको मौसमी प्रतिकूलताको बावजुद पनि मतदाताको उत्साहजनक सहभागिता हुनु यो निर्वाचनको महत्वपूर्ण पक्ष हो । हल्दिबारी गाउँपालिकाको सरस्वती प्रावि मतदान केन्द्रमा ९६ वर्षीय ज्येष्ठ नागरिकबाट मतदानको प्रारम्भ गरिनु र कमल गाउँपालिकामा अध्यक्ष पदका दुई उम्मेदवारको प्राप्त मत बराबर भई गोलाद्वारा एकजना निर्वाचित हुनु रोचक सन्दर्भ लागेका छन् ।

झापाका मतदाताको मनोविज्ञान कस्तो पाउनु भयो ?

झापाका मतदाताले राजनीतिक दलको नेतृत्व वर्ग र उम्मेदवार बन्न चाहनेहरुलाई राम्रो शिक्षा दिएको अनुभव गरेको छु । स्थानीय तहको निर्वाचनमा केन्द्रबाट उम्मेदवार लाद्ने प्रवृत्तिको यसपटक मतदाताले प्रतिकार गरेको देखियो । समाजमा कुनै योगदान नगरी विजय प्राप्त गर्नु असम्भव हुन्छ । झापाली मतदाताको चिन्तन र मनोविज्ञान यसैमा आधारित देखियो ।

तयारीका सन्दर्भमा ध्यान पुर्याउन नसकिएको पक्ष कुनै रहेछ कि ?

आफूले विगतमा अनुभव गरेको, सुधार गर्न चाहेको र व्यवस्थापनमा पर्याप्त ध्यान पुर्याएको विषयमा पनि निर्वाचनको तयारी र व्यवस्थापनमा कतिपय त्रुटी कमजोरी हुँदारहेछन् । मतदानको लागि जनशक्ति परिचालनमा, पारिश्रमिक वितरणमा, मतदाता शिक्षामा कमजोरी भएको मैले महसुस गरेँ ।

निर्वाचनको व्यवस्थापकीय समीक्षा गर्नुपर्दा ?

निर्वाचनको व्यवस्थापनमा जिल्ला निर्वाचन कार्यालयमात्र नभएर मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृतहरु, स्थानीय प्रशासन, सुरक्षा निकाय सबैको महत्वपूर्ण भूमिका र जिम्मेवारी रहन्छ । झापा जिल्लामा सबै पदाधिकारी र निकायसँग निरन्तर सम्पर्क र समन्वयमा रही व्यवस्थापन गरिएको र शान्तिपूर्ण ढङ्गबाट मतदान कार्य सम्पन्न भएकोमा खुशी लागेको छ । मुख्य निर्वाचन अधिकृतज्यू, प्रमुख जिल्ला अधिकारीज्यू, सुरक्षा अधिकारीज्यूहरु, निर्वाचन अधिकृतज्यूहरुको साथ र सहयेगबाट मात्र यो सम्भव भएको हो । राजनीतिक दलको सुझबुझ,   परिपक्वता र संयमितता, आम मतदाताको सक्रियता एवम् सञ्चारकर्मीसहित सरोकारवाला सबैको सार्थक सहयोग झापाको स्थानीय तहको निर्वाचनमा अविस्मरणीय छ ।

निर्वाचनले सिकाएको नयाँ कुरा वा सन्देश केही छन् ?

निर्वाचन यथार्थमा जनमतको प्रकटीकरण हो । निर्वाचनका माध्यमबाट जनताले कुनै न कुनै सन्देश प्रकट गरेको हुन्छ । माथि प्रसङ्ग उठिसकेको छ, केन्द्रीय तह र स्थानीय तहको निर्वाचनमा जनमत फरक तरिकाले प्रकट हुन्छ । उम्मेदवार कर्मठ, लोकप्रिय र सहयोगशील हुनुपर्छ जनताको विश्वास जित्न, न कि नेताप्रिय । निर्वाचनबाट व्यक्त शिक्षा वा सन्देश यसैलाई मान्न सकिन्छ ।

अबको तयारी के हो ?

स्थानीय तह चुनाव अन्तर्गत गाउँ–नगर कार्यपालिका र जिल्ला समन्वय समिति तहको निर्वाचन गर्नुछ । सबै स्थानीय तहमा कार्यपालिकामा महिला र दलित वा अल्पसंख्यक समुदायबाट थप हुने सदस्यको निर्वाचन र जिल्ला समन्वय समितिको निर्वाचन सम्पन्न गर्ने, सामग्री व्यवस्थापन, निर्वाचन अधिकृतबाट प्राप्त हुने विवरण र कागजात बुझ्ने र अब हुने प्रदेश सभा र संघीय प्रतिनिधिसभाको निर्वाचनको लागि आन्तरिक काममा लाग्छौ । सँगसँगै धेरै मतदाताहरु हालै सम्पन्न स्थानीय तह निर्वाचनमा मतदानबाट बञ्चित भएको अवस्थालाई मध्यनजर गरी साउन १ गतेबाट आयोगले सञ्चालन गर्ने फोटोसहितको मतदाता नामावली संकलनलाई तीब्रता दिनेछौं । र, आगामी निर्वाचनहरुमा आजका कमी कमजोरीहरुलाई दोहोरिन नदिन सचेतता अपनाउनेछौं । 

प्रतिकृया दिनुहोस