‘व्यावसायीहरुलाई समयानुकूल प्रतिष्पर्धामा ल्याउन वाणिज्य संघको भूमिका सही हुनुपर्छ’


प्रकाशित मिति : २०७४ ,श्रावण , १७ 16:49:33

सुबास भट्टराई, महासचिवका उम्मेदवार (बिर्तामोड उद्योग वाणिज्य संघ)

27418-20170801164933.jpg

सुबास भट्टराई बिर्तामोडबासीका लागि अब नयाँ नाम होइन । अलैंची र गल्ला किरानाका थोक व्यवसायी भट्टराई नेपाल अलैंची व्यवसायी महासंघका केन्द्रीय कोषाध्यक्ष हुन् । उनी एक दशकदेखि बिर्तामोडमा रहेर व्यवसाय गरिरहेका छन् । नेपाल राष्ट्रिय वाणिज्य संघको बिर्तामोड नगर कमिटीका अध्यक्ष यिनी व्यवसायीहरुका समस्याका बारेमा जानकार छन् र अनेकन समस्याहरुलाई सहजै किनारा लगाएर आफ्नो खुबी देखाइसकेका छन् । बिर्तामोड उद्योग वाणिज्य संघको तदर्थ समितिका महासचिव यिनले पुनः आफूलाई महासचिवकै जिम्मेवारीमा रहेर एक कार्यकाल काम गर्ने इच्छा देखाएका छन् । प्रस्तुत छ, बिर्तामोड उद्योग वाणिज्य संघको निर्वाचनलाई सन्दर्भ बनाएर साझामञ्चले गरेको कुराकानी । 
 

वाणिज्य संघमा नयाँ नेतृत्व चयनको लागि हुन लागेको निर्वाचनको संघारमा आइपुग्नु भएको छ । कस्तो हुँदैछ तयारी ?

बिर्तामोड नगरपालिका घोषणाभए लगत्तै झापा उद्योग वाणिज्य संघको बिर्तामोड शाखालाई नगर उद्योग वाणिज्य संघमा रुपान्तरण गरिनुपथ्र्यो । तर तत्कालीन नेतृत्वका विविध स्वार्थले त्यसो गरिएन । नेपाल राष्ट्रिय वाणिज्य संघ बिर्तामोड नगर कमिटीले दुईवर्ष अगाडि साउन महिनामा तत्कालीन नेतृत्वको कामको कडा आलोचनासहित विद्रोह गरेरमात्रै गतवर्ष नगर उद्योग वाणिज्य संघमा रुपान्तरण गरिएको पृष्ठभूमिबाट यो चुनाव आएको हो । यसर्थ आसन्न चुनावका लागि हामी पूर्ण तयारीमा छौं । यो चुनाव हामीले नै अत्यावश्यक ठानेर फ्रेस नेतृत्व चयन गरी बिर्तामोड नगरपालिका क्षेत्रभित्रका उद्योगी व्यवसायीको समस्याहरु सम्बोधन गर्न सकियोस् भनेर गर्न लागिएको हो । त्यसैले पनि हाम्रो तयारी राम्रै छ ।

यहाँले राम्रो काम गर्न फ्रेस नेतृत्व चाहिने कुरा गर्नुभयो, तर अघिल्लो वर्षदेखि तपाईं नै महासचिव रहेको तदर्थ समिति पनि त फ्रेसहरुकै बीचबाट बनेको होइन र ? 

हो, तदर्थ समितिमा हामी थियौं र नै तोकिएको समयावधिमा विधान बनाएर जिल्ला प्रशासनबाट संस्था सञ्चालनको स्वीकृति लियौं त । तदर्थ समितिको अवधि निश्चित थियो, ८ महिनाभित्रमा विधान पारित गरेर, संस्था अपग्रेड गरेर दर्ता पछि निर्वाचनको माध्यमबाट नयाँ नेतृत्व चयन गर्ने हामीले जिम्मेवारी पाएका थियौं । झापा शाखाको रुपमा रहेको संघलाई नगर उद्योग वाणिज्य संघमा रुपान्तरण गराउन सबैबाट सहकार्य गर्न सक्यौं, कसैले विरोध गरेको छैन । स्थानीय तह चुनावको आचारसंहिताले हाम्रो संघको चुनाव गर्न रोकिएकाले दुई महिना पछि सरेकोमात्र हो, नत्र हामी फ्रेसहरुकै बलमा यी कामहरु सहज ढङ्गले भएका हुन् भन्ने लाग्छ । 

तपाईंलाई किन महासचिवमा मतदान गर्ने ? महासचिवमा विजय भएपछिका योजनाहरु के के छन् ? 

महासचिवको मुख्य जिम्मेवारी भनेको संघको कार्यालय व्यवस्थापन गर्ने हो । पाँच हजार हाराहारी व्यवसायीको साझा संस्था भएपछि यसको कार्यालयको पनि समुचित व्यवस्थापन गरिनुपर्छ भन्ने मेरो मान्यता हो । मेरो विजयपछि संघको कार्यालयलाई चुस्त बनाउँछु, छिटो छरितो काम गर्ने ढंगबाट रेकर्डहरु दुरुस्त राख्ने व्यवस्था मिलाउनेछु । सेवाग्राहीहरुले मागेको सेवा सजिलै, बिना झण्झट पूरा गर्ने गरी कर्मचारीको व्यवस्थापन गराउनेछु । अतिथि सदनको आम्दानीसमेत परिचालन गरी सोको स्तरोन्नति गरी थप सुविधासम्पन्न बनाउने हाम्रो योजना छ । बिर्तामोडको पहिलो ठूलो हल, जो अरुभन्दा सस्तो पनि छ र पायकपर्ने स्थानमा पनि छ, यसको स्तरोन्नति अतिआवश्यक रहेको हामीले ठानेका छौं । 

उद्योगी व्यवसायीका अनेकन समस्याहरु उत्पन्न हुन्छन्, भइरहेका छन् । तिनीहरुको व्यवस्थापन गर्न सक्षम नेतृत्वको आवश्यकता छ । कर राजश्व सम्बन्धी झण्झटिलो प्रक्रियाले व्यवसायीलाई आहत बनाइरहेको छ, यस्तो समस्या समाधानका लागि संस्थागत पहल गरिनुपर्छ तर विगतका नेतृत्व यसमा चुकिरहेका छन् । घर धनी र बहालवाला ब्यापारीका बीच समय समयमा बहालको दर, बहाल कर बुझाउने, घर छोड्नुपर्ने वा छोडाउने दबाब पनि हुन्छन् । तिनको उपयुक्त निकास खोज्न पनि सक्षम नेतृत्व चाहिन्छ । यी सबै समस्याको समाधानका लागि मेरो संगठनले आफूलाई योग्य ठानेर उम्मेदवार बनाएको हो । र, मतदाता महानुभावलाई पनि यस्ता समस्याहरु समाधान गर्न म योग्य छु भन्ने अवगत गराउँछु ।

तपाईंको संयुक्त प्यानलका प्रतिवद्धताहरु हेर्दा निकै गहकिला लाग्छन् नि, पूरा गर्न सक्नुहुन्छ ?

हामीले संयुक्त व्यावसायिक प्यानल बनाइरहँदा एउटा मूलमन्त्रको सूत्रपात गरेका छौं । ‘व्यवसायीको संस्था, व्यवसायीकै नीति, व्यवसायीकै नेतृत्व’लाई आत्मसाथ गर्नकै लागि यस्तो मूलमन्त्र बनाइएको हो । प्रतिवद्धता पत्रमा प्रस्तुत गरिएका विषयहरु अधिकांश हाम्रो संघले नै गर्न सक्छ । बाँकी केहीका लागि सरोकारवाला निकायसँग समन्वय गरेर काम अगाडि बढाउनु पर्छ । असम्भव भने छैन । बिर्तामोडका व्यावसायीहरु उन्नति र प्रगतिसँगै समयानुकूल प्रतिष्पर्धात्मक रुपमा अगाडि आउन चाहान्छन् । त्यसका लागि उद्योग वाणिज्य संघजस्ता संस्थाहरुको सही भूमिका हुनु पर्दछ । विगतका दिनहरुमा भए गरेका कतिपय कामहरुले संस्थाको मूल नीति र गरीमालाई सम्बोधन गर्न नसकेको कारण समस्याहरु धेरै उत्पन्न भएका हुन् । यसर्थ ‘जस्तो लगानी उस्तै प्रतिफल’ भनेजस्तै आसन्न निर्वाचनलाई संस्थाको सर्वाङ्गीण विकासका निमित्त एक ऐतिहासिक अवसरकारुपमा तपाईं मतदाताहरुले आत्मसाथ गर्नुहुनेछ भन्ने विश्वाससहित हामीले प्रतिवद्धताहरु सार्वजनिक गरेका हौं ।

तपाईंहरुले चन्दा चिठ्ठाको आतंकलाई रोक्छौं भन्नु भएको छ नि ! त्यो सम्भव छ ?

राम्रो प्रश्न गर्नुभयो । शहर बजारमा चन्दा माग्न आउने र चिठ्ठा कटाउनेहरुको अस्वाभाविक भीड हुने गरेको छ । राजनीतिक दल, तिनका भातृ संगठनहरु, गैर राजनीतिक भनिएका संघ–संस्थाहरु चिठी बोकेर सहयोग माग्दै आउँछन् । सहयोग भनेर मागेपछि व्यवसायीले इच्छाले दिएको रकम स्वीकारेको अवस्थालाई हामीले केही भन्दैनौं । तर दबाव दिएर, धम्क्याएर रकम माग्ने प्रवृत्तिको चाहिँ हामीले खुलेर विरोध गर्छौं । यसरी चन्दा माग्नेहरुलाई वाणिज्य संघमा पठाउन हामीले व्यवसायीहरुलाई आग्रह गर्ने गरेका छौं । संघले सबै सदस्य व्यवसायीबाट विविध खर्च भन्ने शीर्षकमा केही रकम उठाएको हुन्छ । त्यही रकमबाट हामीले सबै व्यवसायीको संयुक्त सहयोग भनेर दिने व्यवस्था मिलाएका छौं । यसमा व्यवसायी वर्गले पनि कुरा बुझ्नु जरुरी छ । वाणिज्य संघलाई हामीले दिएका छौं, उहीँबाट हामी सबैको नाममा उपयुक्त चन्दा प्राप्त हुनेछ भनेर पठाइदिनु भयो भने यो समस्या पक्कै हट्नेछ ।

अनि बन्द हड्तालमुक्त नगरको परिकल्पना पनि छ नि ?

हो, बन्द हड्ताल गराउने पक्ष भनेको कि त राजनीतिक दलहरु, कि तिनका भातृ संगठनहरु नै हुन् । व्यापारी व्यवसायीहरु बन्द हड्ताल गर्दैनन् । यसकारण सबै राजनीतिक दलहरुलाई एकै ठाउँमा भेला गरेर अबदेखि बिर्तामोड नगरक्षेत्रमा कुनै पनि माग तेर्साएर बन्द हड्ताल गरिने छैन, गर्न दिइने छैन भन्ने प्रतिवद्धतापत्रमा हस्ताक्षर गराउनेछौं । यो असम्भव कुरा पनि होइन, छिमेकी कनकाई नगरपालिकाको सुरुङ्गा क्षेत्रमा यो कार्यान्वयन भइसकेको छ । हामी नयाँ नेतृत्वको चयन प्रक्रिया सकेपछि तुरुन्तै यो कार्यको लागि तयारी गर्नेछौं ।

धेरैवर्षदेखि बिर्तामोडमा सार्वजनिक शौचालय बनाउने चर्चा हुन्छ तर बनाइँदैन । शौचालय बनाउने काम वाणिज्य संघको कि अन्य निकायको ? 
सामाजिक काममा अगाडि सर्ने, हातेमालो गर्ने र यहाँका व्यापारी, व्यवसायी, ग्राहक, आगन्तुकको सुविधाका लागि अत्यावश्यक सेवा उपलब्ध गराउने कर्तव्य वाणिज्य संघको पनि हो । सार्वजनिक शौचालय बनाउने विषय हरेक चुनावका समयमा लाग्दै आएको ‘सदावहार नारा’ पनि बनेको छ । तर विभिन्न बहाना बनाएर यसको कार्यान्वयन गरिएको पाइन्न । अब हामीले नेतृत्व सम्हालेपछि अर्को चुनावका लागि यो विषय नारा बनाउन दिइने छैन । स्थानीय सरकारसँगको समन्वयमा सार्वजनिक शौचालय निर्माण गरिनेछ । त्यतिमात्र होइन, बिर्तामोडका सबै बजार क्षेत्रमा उत्पादन हुने फोहोर मैलाको समुचित व्यवस्थापन गरिनेछ । यो एक्लो प्रयासबाट सम्भव छैन । बिर्तामोड नगरपालिका, नगरविकास समिति, सडक विभाग, स्थानीय सामाजिक संघ–संस्था, राजनीतिक दलहरुको समन्वयमा सहरी क्षेत्रमा ढल निकासको व्यवस्थापन, फोहोरमैलाको व्यवस्थापन तथा सार्वजनिक शौचालय बनाउने कुरामा हामी अग्रसर हुनेछौं र प्रतिवद्ध पनि छौं ।

यहाँका उपभोक्ताले भारतको पानीट्याङ्की बजार भरिएको हुन्छ तर बिर्तामोडका व्यापारी कारोबार नभएर घरबहाल र कामदारको पारिश्रमिक पनि दिन नसकिने अवस्था भएको गुनासो सुनाउँछन् । यसको व्यवस्थापन गर्ने कुनै योजना छ कि ?

तपाईंले ठीक प्रश्न गर्नुभयो । के बुझेर यहाँका मानिस उहाँसम्म उपभोग्य सामान किन्न गइरहेका छन् भन्ने मनोविज्ञानलाई ध्यान दिनु जरुरी छ । हामीले स्थानीय सरकारसँग समन्वय गरेर भन्सार नाकालाई थप कडा बनाउन आग्रह गर्नेछौं । कालोबजारी रोक्ने काम प्रहरी प्रशासनको हो । कोही कसैले भन्सार राजश्व छलेर सामान भित्राउन पाइँदैन भन्ने हाम्रो मान्यता हो । यदि भन्सार नाकामा रहेका प्रहरी प्रशासनका मान्छेले नीति नियमको उचित पालना गरिदिए भने उताबाट व्यक्ति व्यक्तिले सामान ल्यााउन रोकिनेछ । आधाभन्दा बढी समस्या यहीँबाट समाधान हुनेछ । यताका व्यापारीले भन्सार तिरेर बेच्न राखेको सामान महङ्गो भएको भन्ने बहानामा पानीट्याङ्की पुग्ने उपभोक्ता भन्सार र राजश्व गस्तीको कारबाहीमा पर्न थालेपछि यो समस्या पनि निराकरण हुनेछ । यसका लागि नवनिर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरुले आफ्नो तहको राजश्व वृद्धि गर्ने योजनामा समेट्नेछन् । त्यसपछि हाम्रै बजारमा उपभोग्य बस्तुहरु सुलभ मूल्यमा पाउन थालिनेछ ।

अन्तमा केही भन्नु हुन्छ कि ?

सबैभन्दा पहिले तपाईं र साझामञ्च मिडियालाई धन्यवाद दिन चाहान्छु । मेरा कुराहरु राख्ने अवसर दिनुभयो र मतदातालाई आफ्ना एजेण्डाहरु सुनाउने अवसर दिनुभयो । यो छोटो कुराकानीमा मैले सबैकुरा व्यक्त गर्न पनि पाइन । हामी उम्मेदवारहरु मिलेर बनाएको संयुक्त व्यावसायीहरुको प्यानलले प्रकाशन गरेको प्रतिवद्धता पत्रमा पनि धेरै कुराहरु उल्लेख गरिएको छ । ती प्रतिवद्धताहरु लेखिएकामात्र होइनन्, पूरा गर्नकै लागि बनाइएकाले तपाईंहरुले हाम्रो प्यानललाई र विशेष गरेर मलाई मतदान गर्नुहुनेछ भन्ने विश्वास लिएको छु । धन्यवाद । 
 

प्रतिकृया दिनुहोस