झापा जिल्ला सहकारी संघ लि.को ध्यानार्कषण सम्बन्धमा


प्रकाशित मिति : २०७४ ,अषाढ , २१ 18:47:48

झापा जिल्लाको काँकरभिट्टामा मुख्य कार्यालय रही झापाका विभिन्न क्षेत्रका १५ वटा सेवाकेन्द्र मार्फत् कारोबार सञ्चालन गर्दै आएको नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि.को सम्बन्धमा नेपाल राष्ट्र बैंकले सिमित बैंकिङ्ग कारोबार गर्ने इजाजत रद्ध गरेको भन्ने सूचना राष्ट्र बैंकले प्रकाशन गरी सर्वसाधारणलाई जानकारी गराएकोमा त्यस सम्बन्धमा हाम्रो गम्भिर ध्यानार्कषण भएको छ । इजाजत पत्र रद्ध गर्दा राष्ट्र बैंकले लिएका तर्क र धारणले एनएमसीका सदस्य र सर्वसाधारणमा समेत नकारात्मक धारणा बन्न सक्ने अवस्था सिर्जना हुनसक्ने भएकाले यस संघको सदस्य संस्था नेपाल बहुउद्देश्यीय सहकारी संस्था, संस्थाको अवस्था र कारेबारका बारेमा निम्नानुसार स्पष्ट पार्न चाहन्छौं ।

१. कुनै पनि सहकारी संस्थाले सहकारी कानून बमोजिम आफ्नो कारोबार सञ्चालन गर्न नेपाल राष्ट्र बैंकको इजाजतको आवश्यकता नपर्ने र झापाका अन्य कुनै पनि सहकारी संस्थाले नेपाल राष्ट्र बैंकको इजाजत बिना नै सहकारी ऐन, नियमावली र मापदण्ड बमोजिम कारोबार सञ्चालन गरिरहेका छन् । अब एनएमसीले पनि सोही अनुसार गर्ने हो ।

२. हाल नेपालमा सञ्चालनमा रहेका सबैखाले सहकारी संस्थामध्ये एनएमसीको कारोबार ठूलो रहेको छ । यस संस्थाको शेयर पूँजी ४१ करोड, कोष २५ करोड, निक्षेप ३ अर्ब ९४ करोड, लगानी ४ अर्ब ४६ करोड रही सहकारी क्षेत्रले उत्पादनको क्षेत्रमा काम गर्नुपर्छ भन्ने सहकारी अभियान र सरकारको नीति अनुरुप एनएमसी डेरीजस्तो किसान र उपभोक्ता दुबैलाई हित हुने व्यवसाय सञ्चालन गरी सो व्यवसाय व्यवसायिक रुपामा पनि सफल बन्दै गएको छ ।

३. सहकारी सबैले बुझनु पर्छ, सबैलाई बुझाउनु पर्छ भन्ने मान्यतामा वार्षिक १० हजार बढी सदस्यलाई सहकारी शिक्षा तथा ५०० जना सदस्यलाई विभिन्न समिति, उपसमितिमा जिम्मेवारी दिई क्रियाशील बनाउदै कारोबार सञ्चालन, आन्तरिक नियमन र सुशासनका लागि ४१ वटा नीति निर्माण गरी नीति र विधि मार्फत् यो संस्था सञ्चालनमा रहेको छ ।

४. बेलाबेलामा यस संघको निरीक्षणको क्रममा संस्थाको सन्तुलित वित्तीय अवस्था पाइएको, नियमानुसार निक्षेप कारोबार भएको, तरलता व्यवस्थापन गरेको, कर्जा लगानी सुरक्षित रही भाखा नाघेको अवस्था अत्यन्त न्यून शून्य दशमलव ५ प्रतिशतभन्दा पनि कम रहेको र कारोबारको नाफाबाट सबैभन्दा बढी कर तिर्दै सम्मानित भएको, जिल्ला सहकारी संघ, राष्ट्रिय सहकारी संघबाट उत्कृष्ट सहकारीको रुपमा पुरस्कृत भई सदस्यता बृद्धि र कारोबार बृद्धि पनि उत्कृष्ट रहेको पाइएको छ ।

उपरोक्त अवस्थाका आधारमा नेपाल राष्ट्र बैंकले दुरासयपूर्ण तवरले इजाजत रद्ध गर्दा यस संस्था र संस्थाका सदस्यको भविष्यमा कुनै पनि नकारात्मक अवस्था सिर्जना नभई बरु सहकारीलाई सहकारी क्षेत्रकै, डिभिजन सहकारी कार्यालय, सहकारी विभाग र मन्त्रालयबाट अनुगमन हुने हुँदा सबै सहकारीले एउटै विधि र प्रक्रियाअनुसार चल्ने अवस्था सिर्जना भई संस्थाको प्रतिस्पर्धात्मक क्षमता बढेर अझ बृहत्तररुपमा व्यवसायिक बन्दै सदस्यको सेवाको निम्ति लाग्ने अवसर प्राप्त हुने हाम्रो ठहर छ । नेपाल राष्ट्र बैंकको सूचना र त्यसले पारेको असरबाट भ्रम सिर्जना भई नेपाल बहुउद्देश्यीय सहकारी संस्थाको तरलता व्यवस्थापनमा कुनै समस्या नरहेको र सबैखाले प्रतिकूलता चिर्नमा सबै सहकारीसहित झापा जिल्ला सहकारी संघ एनएमसीको साथमा रहेको व्यहोरासमेत अनुरोध गर्न चाहन्छौ । 

सहकारी ऐन २०४८, नियमावली २०४९ र सहकारी मापदण्ड २०६८ बमोजिम जसरी अरु सहकारी चलेका छन्, एनएमसी पनि सोही ऐन र विधि अनुसार चलेको हो, चलिरहने छ । नेपाल राष्ट्र बैंकको नीति र सहकारीको नीति नियममा फरक छ । एनएमसीले दुवैको पालना गर्दा राष्ट्र बैंकले केही बुँदामा असहमति जनाई दिएको सीमित बैंकिङको इजाजत मात्र रद्द गरेको हो । एनएमसीले गर्दै गरेको कारोबारमा यसबाट कति पनि फरक नपर्ने हुँदा एनएमसीका सबै सदस्यले ढुक्क भएर कारोबार यथावत गर्न सम्वन्धित सबैमा अनुरोध छ । 

यसअघि नेपाल राष्ट्र बैंकले धेरै सहकारी संस्थाको इजाजत रद्द गरिसकेको छ । सिमीत बैकिङ कारोबारका लागि शुरुमा ३७ वटा सहकारी संस्थालाई बैंकले इजाजत दिए पनि यसअघि २२ वटाको इजाजत रद्द गरिसकेको छ । बाँकी १५ वटामध्ये अहिले नेपाल बहुउद्देश्यीय सहकारी संस्थाको रद्द गरेको हो । 

एनएमसीको इजाजत रद्द गर्ने कार्यबाट नेपालमा सहकारी आन्दोलनको तर्फबाट पुगेको योगदान र त्यसबाट सिर्जित अवसरलाई नेपाल राष्ट्र बैकले कमजोर नठान्न र प्रतिकूल परिस्थितीमा सहकारी क्षेत्रलाई नै ध्वस्त पार्ने नियतबाट माथि उठेर अर्थतन्त्रको तेस्रो खम्बाको रुपमा स्थापित यस क्षेत्रलाई अन्य क्षेत्र सरह व्यवहारमा हेर्न समेत झापा जिल्ला सहकारी संघ अनुरोध गर्दछ । 

             गणेश ढकाल                                 युवराज ढकाल
                 अध्यक्ष                                         सचिव

                   झापा जिल्ला सहकारी संघ लि.

प्रतिकृया दिनुहोस