‘हाम्रा प्रतिबद्धताहरु नै विजयका आधार हुन्’


प्रकाशित मिति : २०७३ ,फाल्गुन , ५ 06:01:54

20491-20170216060154.jpg

नेपाल पत्रकार महासङ्घ झापा शाखाको आसन्न चुनावमा प्रेस चौतारीको प्यानलबाट अध्यक्ष पदको उम्मेद्वार बनेका छन्– गोपाल काफ्ले । पत्रकारितामा स्नातकोत्तर उनी साझा मञ्च मासिक र अनलाईनका सम्पादक हुन् । चुनाव केन्द्रीत भएर उनीसँग सहसम्पादक देबु बानियाँले लिएको अन्तरवार्ता: –

चुनावको तयारी कस्तो हुँदैछ ?
निर्वाचन एउटा प्राविधिक कुरा हो । यसको तयारी पनि सोही बमोजिम हुँदोरहेछ । निश्चित प्रव्रिmयामार्फत मत माग्ने, मतको सुरक्षा गर्ने र साथीहरुका बीचमा आफ्ना एजेण्डाहरु प्रस्तुत गर्ने कार्य भइरहेको छ । निर्वाचन प्रचार प्रसारको काम र आन्तरिक तयारी पनि तीब्र पारिएको छ ।

आफ्नो जीतमा कतिको विश्वस्त हुनुहुन्छ ?
उम्मेदवारी दिनु भनेकै जीत हासिल गर्नु हो । एक चरणको विजय उम्मेदवारी घोषणा गर्दै प्राप्त हुन्छ । गणितीय परिणाम प्राविधिक कुरा हो । यसका लागि हामीले उठाएका एजेण्डाहरु, झापाली पत्रकारितामा हामीले प्रदर्शन गरेका व्यवहार र स्थापित गरेका मान्यताहरु, व्यावसायिक निरन्तरता र पेशागत हक हितमा हामीले व्यक्त गरेका प्रतिबद्धताहरुलाई यसबेला आम पत्रकारहरुले राम्रोसँग बुझ्ने छन्, मूल्याङ्कन गर्नेछन् र एउटा निष्कर्षमा पुग्ने छन् ।

जित्ने आधारहरू के के छन् ?
झापाली पत्रकारितामा मेरो नेतृत्वको प्यानललाई साथीहरुले निष्ठा र निरन्तर पत्रकारिताको प्रनिनिधिका रुपमा प्रस्तुत गर्नु भएको छ । पत्रकार महासङ्घलाई एकताबद्ध र साझा नेतृत्व प्रदान गर्न हामी सक्षम छौँ । हामी भित्रको उत्साह, एकता र प्रतिबद्धता हाम्रा विजयका आधारहरु हुन् । झापाली पत्रकारितामा इमान र निष्ठाको झण्डा हामीले उचाल्दै आएका छौँ । व्यावसायिक पत्रकारिता र पेशागत सुरक्षाका पक्षमा हामी निरन्तर व्रिmयाशील छौं र यस पटक यो मुद्धा संस्थागत हुनेछ ।

तपार्इंले आफ्नो प्रतिस्पर्धीलाई कसरी लिनु भएको छ ?
मैले झापामा कहिल्यै कसैलाई प्रतिस्पर्धीका रुपमा हेरेको छैन र हेर्ने पनि छैन । म पत्रकारिताको सैद्धान्तिक विषयको प्राध्यापक र अभ्यासमा विद्यार्थीसमेत भएकाले अध्यापनका बेला कोही मेरा विद्यार्थी भए पनि मैदानमा हामी सहकर्मीका रुपमा हुन्छौँ । यसर्थ मैले यो निर्वाचनलाई नेतृत्व चयनको प्राविधिक विषयका रुपमा मात्र हेरेकाले कसैलाई प्रतिस्पर्धीका रुपमा बुझ्नु पर्छ भन्ने म ठान्दिन ।

पत्रकार महासङ्घको अध्यक्षमा निर्वाचित भएपछि के छन् तपाईका योजनाहरू ?
पत्रकार महासङ्घ भनेको विकासे संस्था वा निकाय होइन । यो विशुद्ध पत्रकारहरुको व्यावसायिक श्रीवृद्धि र पेशागत हक हित संरक्षण गर्ने निकाय हो । यसले पत्रकारहरुको शिल्प र क्षमता वृद्धिमा बढीभन्दा बढी योगदान गर्नुपर्छ । मेरो नेतृत्वको प्यानलले पत्रकार महासङ्घ झापालाई एक कार्यकाल सञ्चालन गर्न पाए हामी यो संस्थाको वास्तविक चरित्र र उद्देश्य बमोजिम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्दछु । यसका साथै निम्न कुराहरुलाई हामीले झापाली पत्रकारहरुबीच प्रतिबद्धता जाहेर गरेका छा्रंै । पत्रकार आचारसंहिताको कार्यान्वयनका लागि जागरण अभियान चलाउने, प्रेस स्वतन्त्रताका लागि सदैव प्रतिवद्ध रहने, पत्रकार महासङ्घलाई पत्रकारिता क्षेत्रको निष्ठा र आस्थाको रुपमा स्थापित गर्ने, श्रमजीवी पत्रकारहरुको न्यूनतम पारिश्रमिक लागू गर्न दबाव दिने, पत्रकार महासङ्घको भौतिक संरचनाको विकासलाई निरन्तरता दिने लगायत रहेका छन् ।

अझ प्रष्ट पारौँ–उमेर समूह, विषयगत क्षेत्र, पदीय जिम्मेवारी, योग्यताजस्ता फरक फरक आधारमा पत्रकारहरुको वर्गीकरण गरेर क्षमता अभिबृद्धि कार्यक्रम सञ्चालन गर्ने हाम्रो कार्यसमिति क्रियाशील रहनेछ । जिल्लाका विभिन्न भागमा आफ्ना गतिविधिलाई सञ्चालन गर्ने, जिल्लामा क्रियाशील विभिन्न प्रेस क्लबहरुसँग समन्वय गरी महासङ्घका क्रियाकलापलाई सञ्चालन गरिनेछ ।

                                                                                                       (लोकतन्त्र पोष्ट अनलाइन र दैनिकबाट)       

प्रतिकृया दिनुहोस