बालबालिकाको सत्प्रयास: तासको अखडा वाचनालयमा परिणत


सरोज भट्टराई , प्रकाशित मिति : २०७३ ,पौष , २८ 16:45:32

18659-20170112164532.jpg

दूधे । शिवसताक्षी ८ स्थित श्रीजंघा चोकमा रहेको चौतारोमा स्थानीय बासिन्दा हिजोआज दिनहुँ भेला हुन्छन् र पत्रपत्रिका पढ्ने गर्दछन् । यहाँका स्कूले बालबालिकाले गाउँको चौतारामा पत्रपत्रिका पढ्ने वातावरण मिलाएका हुन् । सो ठाउँमा बिहान ७ बजेको हाराहारी सबै किसिमका पत्रिका पढ्न पाउने व्यवस्था उनीहरुले नै मिलाएका हुन् ।

कुनै दिन जुवा तास खेल्ने सो चौतारो अहिले पत्रपत्रिका पढ्ने वाचनालयका रुपमा परिवर्तन भएको छ । त्यसो त ग्रामीण क्षेत्रका बासिन्दाहरु पत्रपत्रिका पढ्ने अवसरबाट अझै पनि बञ्चित छन् । पत्रपत्रिकाहरुको प्रकाशन र वितरण अझैपनि शहर बजारमा मात्र केन्द्रित छ । ग्रामीण भेगमा पत्रिकाको पहुँच अझै पुग्न सकेको छैन । विद्युतीय सञ्चार माध्यमको पहुँच सबैतिर पुगे पनि छापा माध्यमको महत्व अझै घटेको छैन भन्ने कुरा सो वाचनालयले दर्शाएको छ ।

अभियन्ता बालबालिकाले समसामयिक विषय र सूचनालाई सदा आत्मसाथ गर्ने बानी बसालौं भन्ने नारासहित श्रीजंघा चौक दैनिक पत्रपत्रिका संगालोको स्थापना गरी सञ्चालनमा ल्याएका हुन् । कक्षा १२ मा अध्ययनरत स्थानीय बालबालिकाले गाउँमै पत्रपत्रिका पढ्ने वातावरण मिलाएपछि गाउँका मानिसहरु बिहानै चियाको चुस्कीसँगै पत्रिका पढ्ने बानीको विकास गर्न तल्लिन भेटिन थालेका हुन् ।

पत्रपत्रिका संगालो सञ्चालनका लागि स्थानीय बासिन्दाहरुले पनि सहयोग गरेका छन् । शिवसताक्षी ८, माइधार दक्षिणका स्कूले बालबालिकाको सक्रियतामा दुई वर्ष पहिलेदेखि पत्रपत्रिका संगालो सञ्चालनमा ल्याइएको हो । उक्त चौतारोमा बसेर कान्तिपुर दैनिक, साझामञ्च मासिक, विवेचना दैनिक, नागरिक दैनिक, काठमाडौ पोष्ट, सतासी साप्ताहिक, स्वाधीन सम्वाद साप्ताहिकलगायत थुप्रै पत्रपत्रिकाहरु पढ्ने व्यवस्थापन गरिएको सल्लाहकार संयोजक पदम कुँवर बताउँछन् । 

उनका अनुसार दुई वर्ष अघिको तिहारमा देउसी खेलेर संकलन गरेको ४० हजार रुपैयाँले पत्रपत्रिका संगालो सञ्चालन गर्न थालिएको हो । संयोजक कुँवरले भने, ‘गाउँ घरमा तास खेल्ने, जाँड रक्सी सेवन गरेर होहल्ला गर्ने तथा धूमपान गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्दै साना नानीहरुको सक्रियतामा पत्रपत्रिका पढ्ने वातावरण बनाइएकोले विगतमा यस्तो कार्यमा संलग्नहरु पनि हिजोआज चौतारोमा भेला भएर समसामयिक विषयमा चर्चा, छलफल र बहस हुन थालेकेा छ ।’

पत्रिका व्यवस्थापनमा विभिन्न संघ-संस्थाहरुले पनि वार्षिक ग्राहक हुल्क तिरिदिएर अभियन्तालाई सहयोग गरिरहेका छन् । समितिका सचिव झलनाथ पोखरेल भन्छन् ‘युवा बालबालिका नकारात्मक क्रियाकलापमा नलागुन्, कुलतमा नफसुन् भन्ने हाम्रो चाहना हो ।’ अहिले हरेक बिहान पत्रपत्रिका पढ्न बालबालिकादेखि बुढापाकासमेत आउने गर्छन् । सचिव पोखरेलका अनुसार दुई वर्ष यता गाउँघरमा पहिलेको तुलनामा चेतनाको स्तरमा निकै बृद्धि भएको छ ।  

प्रतिकृया दिनुहोस