झापाका दक्षिणी सीमावर्ती क्षेत्रमा तस्करी मौलाउँदै


द्रोण अधिकारी, प्रकाशित मिति : २०७३ ,पौष , २७ 14:49:08

18622-20170111144908.jpg

भद्रपुर । झापाको सदरमुकाम भद्रपुरबाट दक्षिणी नाका तस्करीको अखडा बन्दै जाँदा राजश्व संकलनमा नकारात्मक प्रभाव पर्न थालेको छ ।

भारतीय बजारबाट भद्रपुर छोटी भन्सार नाका हुँदै भित्रिने कपडा, सूर्ति, किटनासक विषादी, जुत्ता, चप्पल र मेसिनरी पार्ट पूर्जा अवैध बाटोबाट छिर्नेक्रम बढेपछि भन्सार राजश्वमा गिरावट आउन थालेको हो ।

भन्सारबाट चेकजाँच भएर भितर््याउनु पर्ने सामग्रीहरु पछिल्ला दुई महिना यता नयाँ बजार, आँपगाछी, भिमनगर, पाठामारी, पृथ्वीनगर, केचना र घेराबारी, जलथल हुँदै अवैध रुपमा भित्रिरहेका छन् । व्यापारिक समूहले सुरक्षार्थ खटिएका प्रहरीसँग सेटिङ मिलाएर अवैध कारोबार गरिरहे पनि नियामक निकाय बेखबरजस्तै पाइएको हो ।

भद्रपुर छोटी भन्सारले सिजनमा तीन करोड रुपैयाँभन्दा माथि नै राजश्व संकलन गर्ने गरे पनि कात्तिक महिना यता दुई करोड रुपैयाँ कटाउन सकेको छैन । मंसीर महिनामा एक करोड १२ लाख रुपैयाँ राजश्व संकलन भएकोमा पौष महिनाको २७ गतेसम्म ७७ लाख मात्र संकलन भएको पाइएको छ ।

दक्षिणी झापाका सीमावर्ती नाकामा उपल्लोस्तरको सेटिङको अफवाह फैलाएर तस्करहरुले सहजरुपमा तस्करीको वातावरण बनाएर काम गरिरहेको स्थानीयको बुझाई छ । कपडा, मेसिनरी पार्टपूर्जा, सूर्तिलगायतका सामग्री केचना नाकाबाट बढी मात्रामा भित्रिइरहेको प्रतक्ष्यदर्शीको भनाइ छ । 

नेपालबाट पनि सुपारी, काठ आदिजस्ता वस्तु ती नाकाभएर भारततर्फ अवैध निकासी भइरहेको उनीहरुको तर्क छ । विशेष प्रहीको नाममा साधा पोशाकका घुमुवा प्रहरीले रकम असुल्ने र तस्करलाई बाटो मिलाई दिने गरेको समाचार स्रोतको दाबी छ ।

सो विषयमा जिज्ञासा राख्दा जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एसपी शैलेश थापा घुमुवा प्रहरी नरहेको भन्दै विशेष अनुसन्धान र अपराध नियन्त्रणका लागि केही साधा पोशाकका प्रहरी परिचालित रहेको बताउँछन् । उनले साधा पोशाकमा परिचालित प्रहरीले गल्ती गरेको वा तस्करसित साँठगाठ गरेर पदीय दुरुपयोग गरेको पाइए अविलम्व कार्वाही गर्ने आश्वासन पनि दिएका छन् ।        

प्रतिकृया दिनुहोस