सगरमाथा कोसेली घरलाई माग पूरा गर्न धौ-धौ 


विपुल अधिकारी, प्रकाशित मिति : २०७३ ,पौष , २६ 14:55:44

18594-20170110145545.jpg

फिदिम । पाँचथरमा आफ्नै चिनारी छ, सगरमाथा अर्ग्यानिक कोसेली घरको । पाँचथरको सदरमुकाम फिदिममा रहेको कोसेली घरमा अर्ग्यानिक चिया, कफीलगायत बस्तुहरु पाइन्छ । यतिमात्र होइन, शहरियाका लागि अनौठो लाग्ने मकैको च्याँख्ला, कोदो र फापरको पिठो, मह, तोरीको तेल, भेडाको घिउलगायत खाद्य बस्तुहरु पनि कोसेली घरमा पाइन्छन् । अर्ग्यानिक उत्पादन तथा स्थानीय जडिबुटीहरु समेतको बिक्री हुँदै आएको उक्त पसललाई उपभोक्ताको माग पूरा गर्न भने धौ-धौ परिरहेको पसल सञ्चालक बालकुमारी न्यौपाने बताउँछिन् ।

स्थानीय अर्ग्यानिक बस्तुहरु किन्न खोज्ने ग्राहकहरुलाई एउटै छानामुनी धेरै प्रकारका खाद्यबस्तु उपलब्ध गराउँदै आएको छ कोसेली घरले । पछिल्लो पटक फिदिम आउने स्वदेशी तथा विदेशी पर्यटकहरु तथा काम विशेषले फिदिम आउनेहरुले उक्त कोसेली घरको चियाको स्वाद लिन पाउनुका साथै अर्ग्यानिक बस्तुको खरिदसमेत गर्ने गरेका छन् । त्यहाँ चिसो मौसममा चिया कफीको चुस्कीसँगै रमाउन आउने स्थानीय तथा देश विदेशबाट आउनेको पर्यटकको संख्यासमेत ठूलो छ ।

मर्निङ वाकबाट फर्किनेहरुलाई आकर्षण गर्न कोसेली घर सफल पनि छ । सरकारी कार्यालय तथा गैर सरकारी निकायका कर्मचारीहरु नियमित जसो यहीँको चिया खाएर दैनिकी सुरु गर्दछन् । यसरी दिनहुँ चिया खान आउनेहरुको संख्या ठूलै रहेको सञ्चालक न्यौपाने सुनाउँछिन् ।

नयाँ शहरको रुपमा विकास भइरहेको फिदिमको विकासको गतिले छोटो समयमा तिब्रता लिइरहेको सन्दर्भमा यहाँ विभिन्न सम्भावना र सम्भाव्यताहरुको खोजी गर्ने काम पनि भइरहेको छ । त्यस मध्येको एक हो, अर्ग्यानिक उत्पादन र लेकाली जडिबुटीजन्य बस्तुको फस्टाउँदो व्यापार । 

सदरमुकाममा रहेको एकमात्र कोसेली घरमा पुग्ने जो कोहीले पनि स्थानीय उत्पादन चिया (अर्थोडक्स) अकबरे खुर्सानी,  घिउ, छुर्पी, ललिपप, अमिलो, ग्रीन टी, ब्ल्याक टी, लेकाली जडिबुटीजन्य बस्तुहरु चिम्फिङ, खानाक्पा, टिमुर आदिको लोभलाग्दो ब्यापार देख्न सकिन्छ । धेरै पर्यटकहरुको बसोबास हुने होटलहरु सरगम, सगुन र डिफोर नजिकै रहेको कोसेली घरको एउटा काउण्टरमा सजाइएका ती समाग्रीहरुले माग धान्नै मुस्किल परेको सञ्चालक न्यौपाने बताउँछिन् ।

विभिन्न साइजका बट्टा र प्याकेजिङमा तयार पारिएको चिया प्रति किलो एक हजार २ सयदेखि माथि बिक्री भइरहेको पसल सञ्चालक न्यौपानेको भनाई छ । जिल्लाका यी उत्पादनहरु जिल्ला बाहिर कोसेलीको रुपमा प्रशस्त लगिने गरेको उनी बताउँछिन् । जिल्लाका विभिन्न चिया उत्पादक सहकारी तथा चिया कम्पनीबाट उत्पादित चिया खरिद गरी आफूले बिक्री गर्दै आएको उनी सुनाउँछिन् ।
स्थानीय उत्पादनमा अकबरे, नौनी, छुर्पी, ललीपप, लेकाली ग्रीन टी र ब्ल्याक टी, गोल्डेन टी, ह्वाइट टी उनको पसलको मौलिक चिनारी हो । यी बस्तुहरु पाँचथरसहित तेह्रथुम र इलामवाट झिकाउने गरिएको न्यौपानेले बताइन् । 

मकैको चामल र फापरको पिठोको माग उच्च रहेकोले ती खाद्यबस्तुहरु जिल्लाका ओयाम, थर्पु, च्याङथापु, सिदिन, प्राङवुङ, मेमेङ तथा तेह्रथुमको आठराई क्षेत्रबाट आयात गरिएको उनको भनाई छ । यस्ता बस्तुहरुको माग फिदिमदेखि काठमाडौँसम्म रहेको छ । उनले भनिन्- स्थानीय अर्ग्यानिक उत्पादनले ग्राहकहरुको माग पूरा गर्न कठिन परिरहेको छ । 

विषेश गरी सम्पन्न परिवारका व्यक्तिहरु तथा मधुमेह रोगका बिरामीहरुले मकैको चामल (च्याँख्ला) र फापरको पिठो खरिद गरेर लैजाने गर्दछन् । सेतो मकैको चामल प्रति किलो ८० रुपैयाँ र फापरको पिठो प्रति किलो २ सय रुपैयाँले बिक्री हुँदै आएको भएपनि जिल्लामा अर्ग्यानिक उत्पादनहरु पाउनै मुस्किल परेको न्यौपानेको अनुभव छ ।

आफूले सञ्चालन गरेको कोसेली घरबाट अर्ग्यानिक बस्तुहरुको मात्रै बिक्री हुने गरेको उनले बताइन् । जसले गर्दा किसानहरुको उत्पादन कम नै भएपनि मूल्य राम्रो पाउने भएकाले अर्ग्यानिक उत्पादन गर्न उनले सबैलाई सल्लाह दिने गरेकी छन् । 

बजारको माग अनुसारको सामग्री ग्राहकहरुलाई दिन नसककेको उनी बताउँछिन् । स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले करिब तीन लाख रुपैयाँको लगानीमा सुरु गरेको पसलमा हाल मासिक एक लाख रुपैयाँभन्दा बढीको सामग्रीहरु बिक्री हुने गरेको न्यौपानेले सुनाइन् । 

प्रतिकृया दिनुहोस