झापाको पत्रकारिता : चुनौती झेल्दै, सम्भावना बटुल्दै


सुनिरा मैनाली, प्रकाशित मिति : २०७३ ,पौष , १९ 15:20:31

18382-20170103152031.jpg

झापा । सञ्चारलाई आधुनिक यूगको सबैभन्दा महत्वपूर्ण र शक्तिशाली औजार मानिन्छ । २१औं शताब्दीलाई त सूचना र सञ्चारको यूग नै भने पनि हुन्छ । १५औं शताब्दीबाट सुरु भएको अखबारी पत्रकारिता, २०औं शताब्दीको पूवाद्र्धबाट सुरु भएको रेडियो र टेलिभिजनले मानिसलाई सूचनाको आवश्यकता बोध गराउन सफल भए । सन् १९९० को दशकमा इन्टरनेट प्रविधिको विकास र आजको समयमा यसको व्यापक प्रयोगले विश्वलाई नै एउटा सानो गाउँ सरह बनाइदिएको अवस्था छ ।

कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका पछि राज्यको अर्को प्रमुख अङ्गको रुपमा चिनिएको पत्रकारिता साँच्चिकै एउटा प्रभावशाली क्षेत्र हो । यो पेशामा जिम्मेवारी बोधसहितको आकर्षण बढ्दो छ । विगत २५ वर्षको तथ्याङ्क हेर्दा झापामा मात्रै दर्जनौं सञ्चार संस्था थपिएका छन् भने पछिल्लो १० वर्षयता विभिन्न नाम चलेका कलेजहरुमा पत्रकारिता विषय पढाई हँुदै आएको छ । पत्रकारिता पढ्ने विद्यार्थीको संख्या पनि राम्रै छ । उनीहरु सबैले पत्रकारितालाई नै पेशा बनाउन चाहिँ सकिरहेका छैनन् ।

झापाको पत्रकारिता बृत्तमा पत्रकार भनेर चिनिएका तीन सय हाराहारीमध्ये एक सयजना पनि सक्रिय पत्रकारितामा छैनन् । जो सक्रिय छन्, उमेरको हिसाबले ‘टिनएजर्स’ देखि ७० वर्षभन्दा ज्येष्ठसम्म निरन्तर क्रियाशील रहेको पाइन्छ । जसलाई पुस्तान्तरण तथा सिकाइको मानकको रुपमा अत्यन्त गौरवको विषय पनि मानिन्छ ।

पत्रकारितामा प्रवृत्तिको कुराः

भन्नु र गर्नु एउटै सिक्काका दुईवटा पाटा हुन् भन्ने कुरा पत्रकारिताको सन्दर्भमा पनि लागू हुने गरेको छ । सञ्चार क्षेत्रले ‘आवाज बिहीनको आवाज’ भइदिनु पर्छ भन्ने सैद्धान्तिक मान्यता राखिँदै आएको छ । पत्रकारिता क्षेत्रलाई आवाज बिहीनको आवाज भनिदिने तर गर्दा पावर, पैसा र पदका पछि दौडने प्रवृत्ति छ । यो प्रवृत्ति झापाली पत्रकारितामा पनि देखिन्छ । कुनै गरिब, विपन्न तथा निमुखा वर्गको पीडा, वेदना र समस्यालाई भन्दा पैसा खर्च गर्न सक्ने पद र प्रतिष्ठावाला मान्छेकै कुरा यहाँ पनि बिकिरहेका छन् । 

आज झापाको पत्रकारितालाई नजिकबाट चिन्नेहरुले प्रभाव र दवावले ठूलो घर गरिरहेको बताउँछन् । यदाकदा इन्धन खर्च र मोवाइल रिचार्जसँग समाचार साटिने पनि गरेको पाइन्छ । जसका कारण पाठकले चाहेजस्तो समाचार नभएर दाताले चाहेजस्तो प्रचारात्मक सामग्री बन्दै गएका छन् । खोजी पत्रकारिता त कि तालिममा कि किताबमा मात्र पाइन्छ । यस्तो अवस्था आउनुको कारण सामाजिक परिवेश र वातावरण नै यस्तै भएको बताउँछन् पत्रकार सन्तोष आचार्य । उनी थप्छन् ‘पत्रकार पनि यही समाजको उत्पादन हो, त्यसैले समाजको प्रभाव देखिनु स्वाभाविक हो ।’

कोही कसैमा केही कमजोरी रहे पनि पत्रकारिताको धर्म सामाजिक उत्तरदायित्व वहन गर्दै अग्रगमन र जनताप्रति जिम्मेवारी बोधसहित सूचना प्रवाह गर्नु नै हो । व्यवसायिक पत्रकारिताका नाममा ठूलो धनराशी लगानी गरेर सञ्चालन गरिएका मिडिया उद्योगहरु पनि छन् । झापामा नै दर्जनौँ पत्रपत्रिका, एफएम रेडियो, टेलिभिजन र अनलाइन सञ्चार माध्यमहरु सञ्चालित छन् । तर सञ्चार क्षेत्र अझै पनि सुरक्षित रहेको पाइन्न । पत्रकार र सञ्चार माध्यमहरुको सङ्ख्या बढे पनि पत्रकारहरुको आर्थिक अवस्था भने सुध्रन सकेको छैन । पछिल्लो समय पत्रकारितामा गुणस्तरको कुरा पनि उठ्ने गरेको छ । कसले कति पढेको छ, कसले पढेको छैनजस्ता विषयले बेलाबखत प्रश्रय पाउन थालेको छ । सुरुका दिनहरुमा झापाली पत्रकारिताले धेरै हैरानी र दुःख व्यहोर्नु परेको भए पनि आज अनुभवले खारिएका सिद्धहस्त तथा नवप्रवेशीहरुको घुलमिलले पत्रकारिता सहज बन्दै आएको भुक्तभोगी पत्रकारहरु बताउँछन् ।
 
प्रवेश, अभ्यास र अनुभव :

सुरुसुरुमा पत्रकारिता क्षेत्रमा प्रवेश गर्ने एकमात्र उपाय पत्रिका व्यवस्थापन वा वितरण नै थियो भने पनि हुन्छ । पत्रपत्रिका वितरणबाट पेशा प्रवेश गरेका धेरै मानिसहरु आज विभिन्न अखबार, अनलाइन र रेडियोमा सम्पादकसम्म बनेका छन् । उनीहरु कतिपयले स्थानीय पत्रपत्रिकाको सम्पादन गरिरहेका छन् भने कतिपय राष्ट्रियस्तरका सञ्चार माध्यममा रिपोर्टिङ गर्छन् । भनिन्छ, निरन्तरको अभ्यासबाट पोख्त बनेपछि पत्रकार बन्ने उबेलाको परिपाटी थियो । त्यसरी नै पत्रकारितामा प्रवेश गरेकाहरुले आजसम्म झापाली पत्रकारिताको नेतृत्व गरिरहेका छन् भन्दा अत्युक्ति हुँदैन ।  

२०६० सालबाट पत्रिका वितरणसँगै मार्केटिङ र रिपोर्टिङ सुरु गरेका मुक्ति पौडेल अहिले जनसंसद दैनिकको सम्पादक छन् । एकदशक लामो पत्रकारिता अभ्यासबाट खारिएका पत्रकार पौडेल भन्छन्, ‘त्यो समयमा प्रविधिको आजको जस्तो विकास नभएकाले टेलिफोनको सहायतामा समाचार टिपोट गर्नुपथ्र्याे, हातले लेखेको समाचार फ्याक्समार्फत् पठाउनु पथ्र्याे ।’ पौडेल थप्छन्, ‘साइकलमै शान्तिनगर, बाहुनडाँगी, ज्यामीरगढीलगायतका स्थानमा रिपोर्टिङ गर्न जान्थ्यौं ।’

 

 

 

 

नेपाली पत्रकारिता क्षेत्रमा पाँच दशकभन्दा लामो समयदेखि क्रियाशील झापाका अग्रज पत्रकार नकुल काजीले पञ्चायती कालखण्डको पत्रकारितालाई ‘लेख्नै नपाइने तर लेखेमा देखिने’ र वर्तमानको पत्रकारितालाई  ‘उत्ताउलो पत्रकारिताको यूग’ भन्ने संज्ञा दिए । उनले भने, ‘पञ्चायती कालखण्डमा स्वतन्त्रतापूर्वक लेख्न पाइन्नथ्यो । आज लेख्न त पाइन्छ तर लेखेको कुरा कसैले वास्ता नगर्ने परिपाटीको विकास भएको छ ।’ ‘आज पत्रकारिता जगतमा वौद्धिक वर्गको प्रतिनिधि चरित्र देख्नै पाउन छाडिएको छ’ भन्दै उनले ‘पत्रकारिता पढेरमात्र नहुने भएकाले व्यवहारिक ज्ञानसहितको सीपयुक्त पत्रकार आजको आवश्यकता भएको’ सुझाव दिए । अग्रज पत्रकार काजीले पत्रकारिताको औपचारिक अध्ययनले मात्र नहुने तर तालिम लिएर वा अनुभवले पनि सीपालु पत्रकार बन्न सक्ने बताए ।

नेपालमा कक्षा ९ देखि नै पत्रकारिता विषयको औपचारिक शिक्षा प्रदान गरिन थालेपछि विद्यार्थीहरुमा पनि व्यवसायिक, पेसागत सीप सिक्ने जाँगर पलाएको छ । भलै झापाको सवालमा कक्षा ११ देखिमात्र यो विषयको अध्यापन भएपनि विद्यार्थीको संख्या वर्षेनी कम्तिमा एक सयको हाराहारी रहने गरेको मनकामना कलेज बिर्तामोडका प्राध्यापक गोपाल काफ्ले बताउँछन् । उनका अनुसार मूल विषय पत्रकारिता लिएर मनकामना कलेजबाट हालसम्म एक सय जनाभन्दा धेरैले स्नातक तह उत्तीर्ण गरेका छन् । उत्तीर्ण भएका सबै सक्रिय पत्रकारितामा नरहेको भए पनि जति क्रियाशील छन् उनीहरुले राम्रो काम गरिरहेको प्राध्यापक काफ्लेले सुनाए ।

 

 

सो क्याम्पसका प्रमुख प्रेमप्रसाद भट्टराई भन्छन्, ‘यहाँबाट उत्पादित विद्यार्थीहरुले पत्रकारितालाई पेसा बनाएर कार्यक्षेत्रमा प्रवेश गर्न पाए भने अहिले हालीमुहाली गर्नेहरु थुप्रैको ओठमुख सुक्छ ।’ उनले थपे ‘तर पुरानै संरचना र सोचाइमा रहेका सम्पादक प्रकाशकहरुले सैद्धान्तिक ज्ञान लिएर आउने नयाँ पुस्तालाई अवसर नै नदिइरहेको परिस्थिति विद्यमान छ ।’ यद्यपी झापाको पत्रकारिता क्षेत्र क्रमशः आसलाग्दो बन्दै गइरहेको उनको बुझाई छ ।

 

नाटक विधामा लामो समयदेखि कलम चलाएका, सडक, रेडियो, टेलिभिजनबाट आफ्ना प्रस्तुतिहरु पस्किइसकेका रङ्गकर्मी टंक विकल्पको बुझाइमा चाहिँ झापाको पत्रकारिता हिजोको अवस्थाबाट केही माथि उठेको छ, तर जति सप्रिनु पथ्र्यो, त्यस्तो अवस्थामा चाहिँ आइपुगेको छैन । पत्रकार विकल्प भन्छन्, ‘यस्तो हुनुमा पहिलो कुरा पत्रकारिता गर्नेमा अध्ययनको कमि हुनु नै हो ।’ पत्रकारिता विषय अध्ययन गर्ने तर यसैलाई कार्यक्षेत्र नबनाएका कारण पनि झापाली पत्रकारिता पुरानै पुस्ताले धान्नु परेको उनी बताउँछन् ।

 

 

 

विवेचना दैनिकका सम्पादक हिमाल खरेल भन्छन्, ‘दशकअघिसम्म पत्रकारिता अध्यापन मोफसलमा हुँदैनथ्यो । पत्रकारिता नपढे पनि मूलधारको पत्रकारितामा युवा सक्रिय थिए । पछि पत्रकारिता विषय पढाई हुन थालेपछि यसको सैद्धान्तिक ज्ञान लिन सहज हुन थाल्यो ।’ पत्रकारिता अध्ययन गरेरै यो पेसामा आउनेको सङ्ख्या क्रमशः बढ्दै गएकोमा उनी खुशी व्यक्त गर्छन् ।  

 

 

लोकतन्त्र पोष्ट अनलाइनका सम्पादक तथा राष्ट्रिय समाचार समितिका पत्रकार अम्बिका भण्डारी पहिलेको र अहिलेको पत्रकारितामा धेरै फरक आइसकेको बताउँछिन् । उनले १२ वर्ष अघि पत्रकारिता सुरुगर्दा पत्रकारहरु थोरै थिए र सहरकेन्द्रित पनि, तर गाउँगाउँका विषयवस्तु समाचार बन्थे । आज प्रविधिले गाउँ र सहरलाई नजिक्याएको त छ तर गाउँका धेरै समाचार छुटेको अनुभूति हुने गरेको छ ।

 

 

कञ्चनजंघा एफएमबाट पत्रकारिता सुरु गरेर हाल रेडियो विराटमा प्रबन्ध निर्देशक रहेकी लीला अनमोल ‘मिडियामा सशक्त ढङ्गले क्रियाशील रहे अवसरको कमि नरहेको’ सुनाउँछिन् । आफू सञ्चार क्षेत्रमा प्रवेश गर्दा महिला पत्रकार थोरै थिए तर आज जसरी सञ्चार माध्यमको विकास भएको छ सोही अनुपातमा पत्रकार महिला पनि बढिरहेको उनी बताउँछिन् ।

नवप्रवेशीको आकांक्षाः

केही वर्षदेखि पत्रकारिता अभ्यास गरिरहेकी सृजना घिमिरे यही पेशालाई अंगालेर जीवन चलाउने प्रयासमा छिन् । पत्रकारिताले समाजलाई सही मार्गदर्शन गर्नुपर्ने र निष्ठापूर्वक पत्रकारिता गरे मान सम्मानसहित जीविकोपार्जन हुने उनको विश्वास छ ।

 

 

वर्तमानको पत्रकारितालाई नियाल्दै उनी भन्छिन्, पत्रकारिताको निष्ठामा कतै खडेरी त लागेको होइन ! तर, निष्ठावान पत्रकारहरु पनि यही समाजमा क्रियाशिल रहँदा उहाँहरुकै प्रेरणाले आज हामी माथि उठ्दैछौं जस्तो लागेको छ ।

 

 

 

 

नयाँ पुस्ताका अर्का पत्रकार, झापाका कान्छा पत्रकार भनेर चिनिएका गौरव पोखरेल रहरै रहरमा आफू पत्रकार बनेको सुनाउँछन् । भन्छन्, ‘स्तम्भकार र लेखकमा मात्र सिमित हुन चाहन्थे । तर, पहिलो पेजमा आफ्नो बाइलाइन समाचार देखेर उत्साहित हुन थालँेछु । थाहै भएन, कतिबेला ‘पत्रकारिता’को लतमा फसिसकिएछ ।’ अबको पत्रकारिता खोजमा केन्द्रित हुनुपर्छ भन्ने मान्यता राख्ने पोखरेल आफूले लेखेको समाचारले सम्बन्धित निकायलाई एकपटक सोच्न बाध्य बनाउनु पर्ने सुझाउँदै भन्छन्, ‘पत्रकारका लागि अध्ययन जरुरी छ र भाषाको पनि राम्रो ज्ञान हुनुपर्छ ।’ ‘पत्रकारितालाई समाजिक सेवा सम्झिएको छु, आवाज विहीनहरुको अवाज उठाउने ठाउँमा छु । त्यसैलै सत्य, तथ्य कुरालाई उजागर गरेर अघि बढ्नु मेरो अभिष्ट हुनेछ’ उनले एकै वाक्यमा आफ्ना आकांक्षा सुनाए ।

र, अन्त्यमाः

नेपाली सञ्चार माध्यामहरु राजनीतिक पार्टीको मुखपत्र बन्दै राजनीतिक दलको पत्रकारिता गर्ने अवस्था नेपाली पत्रकारिताको लागि चुनौतीको विषय हो । सञ्चार माध्याम राजनीतिक दलहरुको संरक्षण हुनु तथा समाचार लेखेकै कारणले अहिले पनि दिनदहाडै पत्रकारहरु मारिनु दुखः लाग्दो विषय हो । नेपाली पत्रकारितामा जकडिएको यस्ता समस्याहरु समाधानका लागि आम पत्रकारहरु पनि गम्भिर बन्न जरुरी देखिन्छ ।

वास्तवमा यो पेशा चुनौतीपूर्ण पेशा हो । सधै नयाँ सामाचार, नयाँ खोज र नयाँ सोच आवश्यक पर्दछ । कुनै पनि पेशा चुनौतीपूर्ण हुन्छ, यद्यपी यो पेशा आफ्नोभन्दा पनि अरुको लागि बोलिदिने पेशा हो । धेरै अभिभावकहरु आफ्ना सन्तानलाई डाक्टर, पाइलट, नर्स, इन्जीनियर र सरकारी जागिरे होस् भन्ने चाहना राख्छन् । त्यसरी नै पत्रकारिता र राजनीतिमा पनि लागोस् र समाज परिवर्तनका लागि महत्वपूर्ण भूमिका निर्वाह गरोस् भन्ने धारणा राखिदियो भने यो क्षेत्र अझ राम्रो बन्नेछ  । र, झापाली पत्रकारिताको मूलधारमा नयाँ पुस्ताले पनि प्रतिनिधित्व गर्नेछ ।

यो समाचार साझामञ्च मासिक खबरपत्रिकाको पुस अंकमा छापिएको छ । 

प्रतिकृया दिनुहोस