दमक चक्रपथ धमाधम निर्माण गरिँदै


मनकुमार गदाल, प्रकाशित मिति : २०७३ ,पौष , ३ 19:19:35

17934-20161218191935.jpg

दमक । दमक नगर क्षेत्रको चौतर्फी विकासको लागि थप सम्भावना बोकेको चक्रपथ निर्माणको काम सम्भाव्यता अध्ययन गरेको १८ वर्षपछि शुरु भएको छ ।

चक्रपथले छुने केही वडाको सडक कालोपत्रे गर्ने चरणमा र्पुयाइएको छ भने कहीँ टर््याक खोल्ने, नाला खन्ने र ह्युम पाइप राख्ने काम भइरहेको छ । दमक १५ को चन्द्रमा टोल, १८ को राई टोल र १८ र १९ वडामा पर्ने धराने टोलमा बाटोको टर््याक खोल्ने, ह्युम पाइप हाल्ने काम भइरहेको हो । 

यस्तै वडा नम्बर ८ र १३ मा चक्रपथको केही खण्ड कालोपत्रे गर्ने चरणमा पुगेको ठेक्कादार निर्माण व्यवसायी कम्पनी मृत संजीवनी निर्माण सेवा काठमाडौंका प्रतिनिधि सन्तोष कटुवालले जनाएका छन् । जाडो मौसममा अलकत्रा उप्किने भएकोले केही समय पछि मात्र सडक कालोपत्रे हुने निर्माण प्रतिनिधि कटुवालले प्रष्ट पारेका हुन् । 

सडक डिभिजन कार्यालय दमकका डिभिजन प्रमुख राजेशकुमार यादवको टोली र दमक चक्रपथ सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष बोधराज न्यौपानेको टोलीले आज निर्माणाधिन उक्त सडकको अवलोकन गरेको हो । यादवको टोलीलाई त्यहाँको बस्तुस्थितिको बारेमा उपभोक्ता समितिका अध्यक्ष न्यौपानेले जानकारी गराएका थिए । छ करोड ६१ लाख ७४ हजार ५९० रुपैयाँमा ठेक्का लिएको मृत संजीवनी कम्पनीले आगामी २०७५ जेठमा निर्माण सम्पन्न गर्ने सम्झौता रहेको प्रतिनिधि कटुवालले बताए ।

सो सडक साढे ३६ किलोमिटर लम्बाई र ५० फुट चौडाइको हुनेछ । सो ठेकेदार कम्पनीले सडकमा करिब १२ किलोमिटर बाटोको टर््याक खोल्ने, १९ वटा कलभर्ड हाल्ने, दमक ८ ताराबारीदेखि उत्तरमा एक हजार ६०० मिटर सडक कालोपत्रे गर्ने, वडा नम्बर १३ मा एक हजार ४०० मिटर सडक कालोपत्रे गर्नेलगायत काम सो निर्माण सेवाले गर्ने उपभोक्ता समितिका अध्यक्ष न्यौपानेले जानकारी दिए ।

चक्रपथ सडक अवलोकनपछि कुरा गर्दै सडक कार्यालयका डिभिजन प्रमुख यादवले बाटो निर्माणका क्रममा आउने सानातिना विवादलाई उपभोक्ता समितिको सहयोगमा समाधान गर्दै समयमै चक्रपथ सडक निर्माण सम्पन्न गर्नुपर्ने सुझाब दिए । निर्वाचन क्षेत्र अन्तर्गतको दुई करोड ९६ लाख रुपैयाँ र अरु सम्भावित रणनीतिक सडक शीर्षकको बजेट खर्च हुने सडक डिभिजन कार्यालय दमकले जनाएको छ । 

पूर्व प्रधानमन्त्री केपी ओलीले दमकको विकासका लागि चक्रपथ सडक आवश्यक छ भनी गरेको परिकल्पना अनुसार आर्थिक वर्ष २०५४/०५५ मा दमक नगरपालिकाले चक्रपथ सडकको सम्भाव्यता अध्ययन गरी सडकको रेखाङ्गकन गर्ने काम शुरु गरेको क्षेत्र नं. ७ का सांसद प्रतिनिधि होमबहादुर थापाले स्मरण गराए । 
        

प्रतिकृया दिनुहोस