स्मरण क्षमताका धनी बाचस्पति 


सुनिरा मैनाली, प्रकाशित मिति : २०७३ ,कार्तिक , २४ 12:59:56

16715-20161109125956.jpg

मानिस, प्राणी वा जेसुकै किन नहोस्, प्रत्येकमा स्मरण शक्ति हुन्छ । कसैले धेरै र छिट्टो सम्झन सक्छन त कसैले कम्ती । हामी आफ्नो दिमागलाई सकेसम्म तिक्ष्ण राख्न चाहन्छौं । तर यो कसरी सम्भव होला ! मागेर, पढेर, रटेर, परिश्रम गरेर वा कसरी ? यो जन्मजात गुण हो कि ? यस्ता प्रश्नहरु मनमा उठ्नु पनि स्वभाविक नै हो । तर कुनै कुनै व्यक्तिको स्मरण शक्तिले धेरै मानिसलाई प्रभाव पारेको हुन्छ । 

कुनै मानिसले एकपटक भेट भएको मानिसलाई दुई, तीन पटकसम्म देख्दा चिन्दैन । तर मनकामना बहुमुखी कलेज बिर्तामोडका लाइब्रेरियन बाचस्पति भट्टराई भने कलेजका पाँच सयभन्दा बढी विद्यार्थीको नाम र कक्षा अनुहार हेरेरै भन्दिछन् । ‘स्मरण शक्ति बढाउने कुनै तालिम लिनु भएको छ कि ?’ साझामञ्चको प्रश्न सुनेर हाँस्दै भट्टराईले भने ‘त्यस्तो अवसर कहाँ पाउनु र ! आफ से आफ आउँछ ।’ 

धाइजन–६ पिपलडाँगीका ५० वर्षे यी अधवैंशेले स्नातकसम्मको अध्ययन पूरा गरेका छन् । तीन वर्ष भयो मनकामना कलेजको लाइब्रेरियन भएको । सबै विद्यार्थी चिन्नु हुन्छ भनी सोधिएको अर्को जिज्ञासामा उनले लाइब्रेरी आउने ९० देखि ९५ प्रतिशतसम्म विद्यार्थीलाई चिन्छु भन्ने जबाफ दिए । उनले थपे ‘आफ्ना अघिल्तिर रहेको विद्यार्थीले कुन पुस्तक कहिले लगेको छ भन्नेसम्म रेकर्ड नहेरी बताउन सक्छु, तर यो क्षमता आफैं विकास भएकोजस्तो लाग्छ ।’ 

यस्तो अद्भुत क्षमता तपाईंमा रहेछ, कुनै दिन कोही अर्कै मान्छेलाई आफूले सोचेको मान्छे भनी झुक्किनु भएको छ ? भन्ने प्रश्न गर्दा ‘त्यस्तो अफ्ठ्यारै चाहिँ परेको छैन तर अहिलेसम्म जम्मा एकपटक झुक्किएको छु, त्यति नै हो फेरि त्यस्तो अवस्था आजसम्म आएको छैन ।’

कलेजका लाइब्रेरीमा ३५ सयदेखि ४ हजार पुस्तकहरु छन् । ती सबै कहाँ राखिएका छन्, कति छन् र क–कसले लगेका छन् रेकर्ड नहेरी प्रष्ट हुन्छ भट्टराईलाई । यतिमात्र नभएर घरमा भएको बेला कसैले उनलार्ई कुन तहमा कुन–कुन किताब पढ्नुपर्छ भनी सोध्दा मज्जाले बताउन सक्ने उनी सुनाउँछन् ।

प्रतिकृया दिनुहोस