नेपालकै पहिलो रिक्सा चालक फुलमाया धिमालको जीवन कथा


शम्भु दाहाल, प्रकाशित मिति : २०७३ ,आश्विन , १३ 15:09:20

15957-20160929150920.jpg

फुलमाया धिमाल नेपालकै पहिलो महिला रिक्सा चालक हुन् । जसका लागि संर्घष नै जीवन यात्रा बनेको छ । विसं २०१२ सालमा झापाको दमक—३ ढुकुरपानीमा पिता धिरु धिमाल र माता च्याखुइ धिमालको कोखबाट फुलमायाले यस धर्तीमा जन्म लिइन् । १२ वर्षको उमेरसम्म ढुकुरपानीको ग्रामिण परिवेशमा हुर्के बढेकी फुलमायाले त्यस पछि जन्म घर छोड्नु पर्ने परिस्थित आयो । 

१२ वर्षकै उमेरमा खरखरेका रामबहादुर धिमालसँग फुलमायाको परिवारले जोडी बाँधिदिए । केही वर्ष माइती घर बसेर पराई घर गएकी फुलमायाको जीवन सामान्य नै चल्दै थियो । रहरले नभई करले सात सन्तानलाई जन्म दिइसकेकी फुलमायाको दुःखको अध्याय त्यसपछि सुरु भयो, जब उनका श्रीमानले यस धर्तीबाट बिदा लिए । 

बिर्तामोडमा रिक्सा चलाउदै परिवारको हेरचार गर्दै आएका रामबहादुरको निधनसँगै छोराछोरी उर्काउने र परिवार चलाउने जिम्मेवारी फुलमायाको काधमा आइपर्यो । अनि सुरु भयो फुलमायाको शाहसिक संर्घषको यात्रा । शारीरिक शक्तिलाई पाइडलमा संचित गरी रिक्साको पाङ्ग्रा चलाउन निश्चय नै सहज छैन । त्यसमा पनि पुरुषको तुलनामा संवेदनशील मानिने रिक्सा चलाउन चुनौतिपूर्ण कार्य हो । 
जीवन चलाउन केही गर्नुपर्छ भन्ने अठोट र साहसका साथ फुलमायाले यस पेसालाई अंगालिन । 

सहरमा नयाँ रिक्सा चालक त्यसमा पनि महिला देख्दा सुरुमा त सबै छक्क परे । उमेरमा हिस्टपुष्ट फुलमायाले २०५३ सालदेखि निरन्तर रिक्सा कुदाइन् । साना साना नानीलाई कोठामा छाडेर रिक्सा कुदाउन उनलाई त्यती सहज थिएन । 

जीवनको १७औं बसन्त रिक्सा कुदाएकी फुलमायाले सात मध्ये पाँच सन्तान रिक्सा कुदाएरै उर्काइन । २०७१ सालमा दुर्घटनामा परेर असक्त बनेपछि फुलमायाले रिक्सा कुदाउन छाडेकी हुन् । उनी अहिले जेठो छोरा अमरसँग बिर्तामोडमा भाडामा लिएको जग्गामा बनाएको घरमा बस्छिन् । 

आजभोली फुलमाया छिमेकीका घरमा घरायसी काम गरेर जीविका चलाउँदै छिन् । अमर पनि दिन रात मेहनत गर्छन । तर पनि हातमुख जोर्न उनीहरुलाई हम्मेहम्मे परिनै रहेको छ । फुलमाया धिमाल संघर्षपूर्ण जीवन यात्राको साक्षी हुन् । उनले कहिलै जीवनदेखि हरेस खाइनन् । बाल्यकालमै विवाह बन्धनमा बाधिएर आधा उमेरमै श्रीमानले साथ छोडेर गएपनि आफ्नो कर्तव्यबाट कहिल्यै विमुख भइनन् फुलमाया । 

जीवनमा झेलेका अनेको दुःख कष्टलाई आत्मसाथ गर्दै धैर्यताको बाँलाई कायम राखेकी फुलमाया जीवनदेखी आशावादी छिन् । दुःख पछि सुःख आउने र सास रहुन्जेल आश रहने कुरामा उनी विश्वास राख्छिन् । उनी भन्छिन् ‘जीवन एउटा यात्रा हो र यो यात्रामा जतिसुकै कठिनाई आएपनि हरेस भने कहिल्यै खानु हुदैन ।’

प्रतिकृया दिनुहोस