हरेक दिन खेतबारीमा रमाउँछन् चर्चित रापंस राई


चेतन आङथुपो, प्रकाशित मिति : २०७३ ,भाद्र , २१ 17:05:30

15225-20160906170641.jpg

नेवार जातिको बाहुल्य रहेको इलामको साकफारा गाविसमा पर्ने फुङनाम बजारदेखि तल्लो पाखा कोल्बोटे गाउँमा छ उनको घर । गुमनामजस्तै बनिसकेका उनी अर्थात् पुराना राजनीतिकर्मी नवलकेमी राई । खाइलाग्दो ज्यान, छत्रेटोपी, पहेँलो गमबुट, अनि हातमा हँसिया बोकेर हरेक साँझ, बिहान खेतबारीमा काम गरिरहेका भेटिन्छन् । 

वि. सं. २००५ सालमा साकफाराको दशमी बजारमा जन्मिएका यिनले औपचारिक शिक्षा लिएका छैनन् रे । आफूलाई साक्षर मात्र भएको सुनाउने राष्ट्रिय पञ्चायतका तत्कालीन सदस्य नवलकेमी पञ्चायतकालको राजनीतिक यात्रा संघर्षपूर्ण रहेको बताउँछन् । उमेरले ६८ वर्षका यिनले पञ्चायती व्यवस्थाको अन्त्य गर्ने उद्देश्यले जनपक्ष मञ्च मालेबाट राजनीतिक यात्रा सुरु गरेका थिए । 

‘पञ्चायतकालमा निर्दलीयहरुको विरुद्धमा जनपक्षीय उम्मेदवार भई २०४३ सालमा इलामबाट राष्ट्रिय पञ्चायत सदस्यको निर्वाचन जितियो ।’ राष्ट्रिय पञ्चायतमा जनपक्षीय नेताहरुको प्रस्तुति कस्तो हुन्थ्यो भन्ने चर्चा गर्दै उनले थपे– ‘चार वर्षको लागि जिम्मेवारी सम्हाल्न राजधानी काठमाडौंमा पुगियो र विपक्षीहरुका विरुद्धमा काम गरियो । उतिबेला विकासका पूर्वाधारलाई भन्दा पनि निर्दलीयतालाई कमजोर बनाउनु पर्ने दायित्व पार्टीले आफूहरुलाई दिइएको थियो । त्यसैले बहुदलीय व्यवस्थाको पक्षपाती भएर धेरै काम गरियो ।’ पञ्चायती व्यवस्था विरुद्धको आन्दोलनमा आठ पटकसम्म हिरासतमा थुनिनु परेको उनले सुनाए । 

हाल के गदै हुनुहुन्छ भन्ने साझामञ्चको जिज्ञासामा भने– ‘घाँस काट्छु, सकेँ भने गोरु जोत्छु ।’ गाउँमा बसेर राजनीतिप्रति सच्चा विचार बोकेर काम गर्ने नवलकेमीलाई आफूले विकास निर्माणका काम गर्न नसकेकोमा कुनै पछुतो छैन रे ! बरु उनलाई पञ्चायती व्यवस्थाको अन्त्य भएकोमा सन्तुष्टी छ । यही नै आफूले गरेकोे राजनीतिको उद्देश्य थियो, जो पूरा गर्न सकियो । 

पछिल्लो समय राजनीतिको मियो थाम्ने मुख्य पात्रहरु लोभ, पाप र अपराधले मुछिएको पाउँदा उनलाई अति गुनासो छ । उनको विचारमा ‘नेतृत्व गर्ने मान्छेले कहिल्यै सत्ता र कुर्सीको लोभ गर्नु हुँदैन, बल्लतल्ल ढाँटढुट गरेर पार्टीलाई मजबुत बनाइँदै हुन्छ, सत्तामा पुग्ने हतारले सबै भताभुङ्ग बन्न पुग्छ । राजनीतिक मान्छेको नियत बिगार्ने नै सत्ता हो ।’ 

नेपालको राजनीतिक अस्थिरताप्रति उनको फरक धारणा छ । ‘चलखेल गर्नेले पैसा कमायो, पैसाले अहिले मान्छे बनाउँछन् । मान्छेहरुमा बढेको चोरी गर्ने, ठगी गर्ने, दलाली गर्ने प्रवृत्तिलाई मनन गर्दा बहुदल साह्रै छिटो आएछ भन्ने लाग्न थालेको छ । कोही कसैबाट नडराउने समय आयो । जहिले पनि एउटा गतिलो अंकुश हुनुपर्छ, जसले मान्छेलाई सही ठाउँमा अड्याउँछ, डराउने ठाउँ भयो भने कानुनको अर्थ हुन्छ नभए हामी साह्रै छाडा हुँदारहेछौँ ।’

वि. सं. २०४५ सालदेखि बाथ र मधुमेह रोगले थलिँदै गएकाले राजनीतिमा निरन्तरता दिन नसकेको बताउने यिनी ‘पहिले मानिस नै स्वस्थ्य हुनुपर्छ, अनि विचार फैलिन्छ’ भन्ने मान्यता राख्छन् । २०५१ सालमा सुकुम्बासी ऐन अन्तर्गत सुकुम्बासी समस्या समाधानको आयोगमा अध्यक्ष नियुक्ति भएका उनी ‘काम गर्ने मनस्थितिमा’ थिएनन् रे ! ‘सुकुम्बासी समस्या आयोग जग्गा ओगटेकाहरुको लागि मात्र थियो । जग्गा धनीलाई अझै धनी बनाउने आयोग मात्र थियो त्यो । त्यस्तो आयोगमा काम गर्न असहमति जनाएपछि आयोगको नाम नै परिवर्तन गरी इलाम आयोग राखिएको र मात्र आफूले भने अनुसारको काम थालेको उनी सुनाउँछन् । 

रै पनि इलाम आयोगले चुलाचुली गाविस क्षेत्रको सुकुम्बासी समस्याको मुद्दाहरुलाई हेर्दै जादाँ समग्र चुलाचुलीबासी जग्गा धनी भइसकेको अवस्था थियो । त्यसमा चुलाचुली–७ स्थित ५९ घरको अलिकति नापी नभएकोले उनीहरुलाई सुकुम्बासी कायम गराइयो । साकफारा गाविसको तल्लो भेग तोरिबारी, दानाबारी गाविसमा १५० घर र बाहुनडाँगीमा ३ सय घरलाई सुकुम्बासी कायम गराउने काम आफ्नो कार्याकालमा गरेकोमा उनी खुशी ब्यक्त गर्छन् । 

२०६० सालदेखि सामाजिक काममा समेत मन मार्दै आएका नवलकेमी आफ्नो ठाउँको सामाजिक, राजनीतिक, समुदायको चेतना, शिक्षा, कला, संस्कृतिप्रति चाहिँ चासो राख्छन् । भन्छन्– ‘एकैचोटी टुप्पाको कुरा ल्याउँछन्, नदाएको गोरु जोतेजस्तै हरेक कुराको प्रक्रिया हुन्छ, त्यो अध्ययन गर्ने र बुझ्न चाहँदैनन् ।’ उनले थपे, ‘सामाजिक रुपमा काम गर्दा साधु हुनुपर्छ, गाउँमा मास्टर पढेकाहरु अझै १५ जना पुग्दैनन्, गरिबीकै कारण मान्छेहरुमा फुर्सद हुँदैन । चेतनाको अभाव छ । नेतृत्वमा पुगेका हो किजस्ता मान्छेहरु कि शहर पसिहाल्छन् कि त विकासको नाममा आफ्नै दुनो सोझ्याउन थाल्छन् ।’
 
विकासको पूर्वाधारले पछाडि परेको ठाउँ र गाउँदेखि बिरक्तिएर कहिलेकाहिँ उनलाई विकास पछि पार्ने जिम्मेवार व्यक्तिहरु प्रति साह्रै रिस उठ्छ । भन्छन्, ‘कम ढाँटेर राजनीति गर्नुपर्छ, जम्मै ढाँटेको कुराले काम चल्दैन ।’ 

भूगोलले कुना परेको फुङनाम, कोल्बोटे, आसेटारजस्ता ठाउँहरु नेवार र मगर जातिको बसोबास छ । यिनीहरु सात पुस्तादेखि यहाँ बसोबास गर्दै आएका छन् । यहाँ पञ्चायतकालबाट बनाउन सुरु गरेको बाटो स्थानीयमा नेतृत्व गर्ने क्षमता नहुँदा पूरा हुन सकेको छैन भने थुप्रै योजनाहरु फ्रिज भएर सदैव दुर्गमबासी बन्नु परेकोमा उनको थप गुनासो छ ।

उनको गाउँमा जग्गा कम हुने तर परिवार संख्या बढी भएका बासिन्दा धेरै छन् । नगदेबाली अम्लिसो, अदुवा, अलैँचीजस्ता नगदे बालीहरु गाउँका आम्दानीका राम्रो स्रोत भएकोले राई पनि जीवन निर्वाहाका लागि यस्तै उत्पादनमा लागेका हुन् । 

प्रतिकृया दिनुहोस